१५ असार २०८३, सोमबार

‘ए हो र माया यति रुचाइएला भन्ने कल्पनै थिएन’

गीत चल्नमा टिकटकले धेरै फाइदा पुर्‍यायो
मंसिर १८, २०७९
‘ए हो र माया यति रुचाइएला भन्ने कल्पनै थिएन’

केही दिनयता टिकटकमा एउटा गीत निकै ‘भाइरल’ छ । युट्युबमा हरेक दिन ४÷५ लाख भ्युज बढाइरहेको छ उक्त गीतले । प्रसंङ्ग हो, – ‘ए हो र माया’ को । 

हिमाल सागर र अनु चौधरीको स्वरमा १० दिनअघि मात्रै रोमान्टिक भाव बोकेको यस गीत युट्युबमा सार्वजनिक गरिएको थियो । 

उक्त गीतको भिडियोले आइतवार बेलुकासम्म युट्युबमा ३१ लाख बढी भ्युज पाइसकेको छ । गीतमा २२ लाख बढी टिकटक बनिसकेका छन् । 

गायक हिमाल सागरले गीतले टिकटकमा ‘रेकर्ड ब्रेक’ नै गरेको दाबी गर्छन् । ‘युट्युबमा एक दिनमै १० लाखसम्म भ्युज पाउने गीतहरू पनि थिए’ उनले भने, ‘तर, टिकटकमा यस गीतले रेकर्ड ब्रेक गरेको छ ।’ 

गायक सागर गीतले पाइरहेको माया कल्पनाभन्दा धेरै बढी रहेको बताउँछन् । आइरहेका भन्दा अलिअलि एक्ट्रा भएका कारण रेकर्डिङको समयमा आफूमा एक किसिमको ‘भाइब्स’ आएको उनी स्मरण गर्छन् । 

‘सबैले मेहनत गरेका थियौँ । गीतले दर्शक एवं स्रोताको मन जित्ला, उहाँहरूबाट राम्रै प्रतिक्रिया आउला भन्ने लागेको थियो’, उनी खुशी हुँदै सुनाउँछन् – ‘तर, यतिसम्म राम्रो प्रतिक्रिया आउला, यतिसम्म रुचाउनुहोला, ‘ब्लकबस्टर’ नै होला भन्ने चाहिँ सोचेकै थिइनँ ।’

शब्द, संगीत र स्वर

गायक हिमाल सागर गीत चल्नुको मुख्य कारण शब्द, संगीत, संगीत संयोजन र गायन रहेको बताउँछन् । ‘यी चारवटै कुराको कम्बिनेशन एकदमै राम्रो भइदियोजस्तो लाग्छ । जुन स्रोता एवं दर्शकलाई एकदमै युनिक लाग्यो’ उनले भने । 

गीतमा विमल अधिकारीको शब्द एवं संगीत छ भने कमल सौरागले यसको संगीत संयोजन गरेका हुन् । गीत चल्नुमा भिडियोको पनि उत्तिकै भूमिका रहेको गायक सागर बताउँछन् । उनले थपे, ‘भिडियोमा पनि एकदमै मेहनत भएको छ । दुई दिन लगाएर लुम्बिनीमा सुटिङ गरिएको छ । सोहीअनुसार क्वालिटी पनि देखिएको छ ।’ 

मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशनमा तयार भिडियोमा विमल अधिकारी र सनिशा भट्टराई फिचर्ड छन् ।

संगीतको कुनै भाषा हुँदैन 

गायक हिमाल सागर यतिबेला सबैतिर आफ्नो गीतको चर्चा हुँदा दंगदास छन् । उनी गीतलाई लिएर आफूलाई बंगलादेश, बर्मालगायतका देशबाट समेत राम्रो–राम्रो म्यासेजहरू र कमेन्टहरू आएको बताउँछन् । 

‘बंगलादेशमा गीत बुझ्नुहुन्न, तर त्यहाँबाट कमेन्टहरू आएका छन् । गीत नबुझे पनि संगीत को त कुनै भाषा हुँदैन’, उनले खुशी शेयर गरे । 

टिकटकले धेरै फाइदा पुर्‍यायो

कुनै समय क्यासेट बिक्री, रेडियो–टेलिभिजनमा प्रशारण आदिबाट गीतको चर्चाको मापन गरिन्थ्यो । तर, नयाँ प्रविधिको विकाससँगै यतिबेला गीतको सफलताको मापन युट्युब र टिकटकका आधारमा गर्न थालिएको छ । गायक हिमाल सागर समयअनुसारको परिवर्तनलाई नकार्न नसकिने बताउँछन् । उनी आफूहरूको गीत ‘ए हो र माया’लाई टिकटकले निकै फाइदा पुर्‍याएको बताउँछन् ।

‘टिकटकमा सुनेर, हेरेर युट्युबमा गएर हेरिदिनेहरू धेरै हुनुहुन्छ’, उनले भने, ‘प्रमोशनका लागि टिकटकले एकदमै धेरै टेवा पुर्‍याएको छ । हाम्रो गीतले युट्युबमा यति राम्रो भ्युज पाउनुमा टिकटक प्रमुख कारण नै भनौँ ।’ युट्युबमा आएका कमेन्टहरू पढ्दा पनि टिकटकमा गीत सुनेर युट्युबमा हेर्न आउनेहरू धेरै हुने गरेको पुष्टि हुने उनको भनाइ छ । 

आधा दर्जन बढी गीत पाइपलाइनमा

वि.स.२०६० सालदेखि सांगीतिक क्षेत्रमा सक्रिय हिमाल सागरले ४ सय ५० भन्दा बढी गीतमा स्वर दिएका छन् । उनका ‘मेरी निशा’, ‘न मैले लेखेँ’, ‘मेरो माया मारेपछि’, ‘मेरो मनमा आगो आउने को ?’, ‘कल्लाई था छैन’ जस्ता दर्जनौं गीत हिट छन् । यतिबेला ‘ए हो र माया’ चर्चामा रहँदा उनी तत्काल भने अन्य गीतहरू नल्याउने बताउँछन् । 

‘यद्यपि, पाइपलाइनमा ७ वटा गीतहरू छन् । ति गीतहरू पनि एकदमै राम्रा–राम्रा छन्’, कुराकानीको बिट मार्दै उनले भने ।

 

salt training

कमेन्ट गर्नुहोस्