
ताप्लेजुङको मैवाखोला गाउँपालिका –१ ढुङ्गेसाँघुका किसानलाई दुधमा आत्मनिर्भर बनाउन उन्नत जातको गाई वितरण गरिएको छ । वडा कार्यालयको ५० प्रतिशत सहयोगमा ढुङ्गेसाँघुका किसानलाई होलस्टेन र जर्सी जातको गाई वितरण गरिएको हो ।
गाई पालनमा संलग्न किसानलाई उन्नत जातको गाई वितरण गरिएको वडाध्यक्ष चन्द्रकुमार तामाङले जानकारी दिए । उनका अनुसार करिव आठ लाख रुपियाँ बराबर मूल्य पर्ने १३ थान गाई खरिद गरी किसानलाई वितरण गरिएको छ ।
कूल लागतको ५० प्रतिशत रकम किसान आफैंले बेहोरेको उनले बताए । ढुङ्गेसाँघुका स्थानीय किसानलाई वितरण गरिएको सो जातको गाई चितवनबाट खरिद गरेर ल्याइएको वडाध्यक्ष तामाङको भनाइ छ । दूध उत्पादन गरी आत्मनिर्भर बन्न चाहने किसानलाई वडाले सहयोग गरेको वडा अध्यक्षले बताए । दुध व्यवसायका लागि गाई पाउँदा किसानहरु खुशी भएको बताएका छन् ।