
आउँदो शुक्रवार एकसाथ दुई नेपाली फिल्म प्रदर्शनमा आउने भएका छन् । तिहारपछि पहिलोपटक हलमा एकसाथ दुई नेपाली फिल्म रिलिज हुन लागेका हुन् । ति फिल्महरू हुन्, ‘सोल अफ द कमाण्डो’ र ‘डेसान’ ।
‘सोल अफ द कमाण्डो’ दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडी राजकुमार राई अभिनित फिल्म हो । उनी २४ वर्षपछि यसै फिल्ममार्फत अभिनयमा पुनरागमन गर्दैछन् । सन् १९९८ मा रिलिज भएको फिल्म ‘कमाण्डो’पछि उनी ‘सोल अफ द कमाण्डो’मार्फत फिल्मको पर्दामा देखिन लागेका हुन् ।
युवराज (वीरबहादुर) राई निर्देशित फिल्ममा कमला खापुङ लिम्बू, शेषुका राई, मिलन राई, रवी थापा, अन्जेल राई, शिशिर वाङदेल, नरेन खड्का लगायतको पनि अभिनय छ । मिलन राईको कथा र सनम जेबीआर रानाको पटकथा रहेको फिल्मको निर्मातामा मिलन राई, रवी थापा र धन बहादुर लिम्बू छन् । एक्सन जनरामा निर्माण भएको २ घण्टा लामो यो फिल्म केन्द्रीय चलचित्र जाँच समितिबाट ‘पीजी सर्टिफिकेट’ पाउँदै सेन्सर पास भइसकेको छ ।
यो फिल्मले १६ वर्षभन्दा कम उमेरका दर्शकका लागि अभिभावक साथमा रहने गरी प्रदर्शन गर्न स्वीकृति पाएको हो ।
त्यस्तै कमल एक्चाई मगरको निर्देशनमा तयार ‘डेसान’ भने सामाजिक कथामा निर्माण भएको फिल्म हो । फिल्ममा भोलाराज सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, शम्भु थापा, क्षितिज सुवेदी लगायतको मुख्य भूमिका छ ।
कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्म पर्फमिङ आर्ट क्रियशनको ब्यानरमा निर्माण भएको हो । २ घण्टा १० मिनेट लामो फिल्मले पारिवारिक सम्बन्ध, प्रेममा असहमति र सामाजिक न्यायका विषयहरू प्रस्तुत गर्ने बताइएको छ । फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिले सबै उमेर समूहका दर्शकले हेर्न सक्नेगरी ‘यूनिभर्सल सर्टिफिकेट’ दिएको छ ।