
सरकारले ३८६ दिनका लागि पुनः म्याद थपेपछि बुुटवल–नारायणगढ सडक खण्ड निर्माणको काम सुचारु भएको छ । बयालिस महिनाअघि भएको ठेक्का सम्झौतामा खासै काम हुन नसकेपनि पुनः म्याद थप भएपछि कामले गति लिएको स्थानीयको भनाइ छ ।
म्याद थपिएपछि सडक निर्माणको कामले तीब्रता पाएको बुुटवल–नारायणगढ सडक खण्डको प्रमुुख इन्जीनियर रमेश दृष्टिले बताए । राष्ट्रिय गौरबको आयोजनाका रुपमा रहेको यस सडकको म्याद थप भएपछि २०२३ सेप्टेम्बर २७ सम्म ठेक्का सम्झौता गरेको कम्पनीले काम सम्पन्न गर्नुपर्ने छ ।
आगामी बैशाखभित्र कम्तिमा २० किलोमिटर सडक खण्ड कालोपत्रे गर्नेगरी काम भइरहेको प्रमुख दृष्टिले बताए । २०१८ डिसेम्बर १९ मा सम्झौता भई २०१९ फेबूुअरी ७ बाट सडक निर्माणको काम शुरु भएको थियो । यद्यपि सो अवधिमा करिब १९ प्रतिशत मात्र काम सम्पन्न भयो ।
करिब १६ अर्ब ९९ करोड रुपियाँमा चिनियाँ कम्पनी चाईना स्टेट कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको छ । म्याद थप भएपछि निर्माणको कामले गति लिएकाले चाँडै प्रगति देखिने इन्जिनियर दृष्टिको विश्वास छ ।
आयोजनामा ४३ वटा ठूला पुल, ३९ वटा साना पुल, चार सय ६२ वटा कल्भर्ट निर्माण गरिने सम्झौता छ । बजार क्षेत्रमा ६ लेन, जंगल क्षेत्रमा चार लेन र दाउन्ने क्षेत्रमा तीन लेनको सडक निर्माण गरिने चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रकसनका प्रमुख ब्यबस्थापक लीनले बताए । नारायणगढ–बुटवल सडक खण्डमा ११४ किलोमिटर सडक निर्माण गरिने छ ।