२३ असार २०८३, मंगलबार

सरकारसँग करीब ५० लाख मात्रा कोरोनाविरुद्धका खोप मौज्दात

मंसिर २८, २०७९
सरकारसँग करीब ५० लाख मात्रा कोरोनाविरुद्धका खोप मौज्दात
प्रतिकात्मक तस्वीर

कोरोना भाइरस विरुद्धको खोप करीब ५० लाख मात्रा मौज्दात रहेको छ ।

कोरोना भाइरसको संक्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात रहन गएको हो । 

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख  डा. सुरेन्द्र चौरसियाका अनुसार हाल ४९ लाख २१ हजार ६३२ मात्रा खोप मौज्दात छ । उनले अहिले संक्रमण घटिरहेकाले माग नहुँदा खोपको मौज्दात रहेको जानकारी दिए ।

सबैभन्दा बढी भेरोसेल खोप मौज्दात  छ । भेरोसेल ४३ लाख ६६ हजार १६६ मात्रा मौज्दात छ भने फाइजर ६० हजार ७५६ र फाइजर (बालबालिका)लाई लगाउने ४ लाख ९४ हजार ७१० मात्रा मौज्दात छ ।

सबैभन्दा बढी केन्द्रीय भण्डारण केन्द्र टेकुमा ४० लाख मात्रा भेरोसेल मौज्दात छ । 

१ नम्बर प्रदेशमा ५ हजार ३७३, मधेश प्रदेशमा ४७ हजार ८९०, बाग्मती प्रदेशमामा ५ लाख ५४ हजार ९६९, हेटौंडामा १ लाख ३५ हजार ३९८ मात्रा खोप मौज्दात छ । गण्डकी प्रदेशमा ७ हजार ६९६, लुम्बिनी प्रदेशमा १ लाख ११ हजार ६, कर्णाली प्रदेशमा ५० हजार ५४६ र सुदूरपश्चिम प्रदेशमा ८ हजार ७५४ मात्रा खोप मौज्दात छ ।

शाखा प्रमुख डा. चौरसियाले माग भएमा प्रदेश र जिल्लामा खोप आपूर्ति गरिने जानकारी दिए ।

अहिले दैनिक १० भन्दा कम व्यक्तिमा संक्रमण देखिएको छ । नेपालमा अहिलेसम्म ६ करोड ३२ लाख ७६ हजार ७१० मात्रा खोप आइसकेकोमा कूल लक्षित जनसंख्यामध्ये ९९ दशमलव ५ प्रतिशतमा पहिलो मात्रा र ९५ दशमलव ७ प्रतिशतमा पूर्ण मात्रा खोप लगाइसकेको छ । कूल जनसंख्याको ७९ दशमलव ५ प्रतिशतले पहिलो मात्रा र ७६ दशमलव ५ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्