
काठेखोला गाउँपालिका–५ रामकोटधाममा नेपाली सेनाको श्रीमेहर गणद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट सात सय नौ बिरामी लाभान्वित भएका छन् । रामेकोटधाममा आयोजित बिहुँकोट धार्मिक महोत्सवको अवसरमा गणले बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
एक हप्तासम्म चलेको उक्त शिविरबाट सामान्य प्रकृतिको समस्या भएका दुई सय ५८ पुरुष, तीन सय ५३ महिला र ९८ बालबालिकासहित केही जटिल रोगका बिरामीको स्वास्थ्य जाँच तथा औषधि वितरण गरिएको गणले जनाएको छ ।
गम्भीर प्रकृतिका रोग पहिचान भएका बिरामीलाई थप उपचारका लागि विभिन्न अस्पताल रिफर गरिएको छ । सेनाका चिकित्सकसहित स्वास्थ्यकर्मी सेवामा खटिएका थिए । आकस्मिक सेवाका लागि सेनाले एम्बुलेन्स सेवासमेत उपलब्ध गराएको थियो । शिविरमा गाउँपालिका र बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले पनि सहयोग गरेको थियो । रासस