
बढ्दो जनसंख्या र अस्तव्यस्त शहरीकरणले पछिल्लो समय विकसित भनिएका देशदेखि विकासोन्मुख र अल्पविकसित देशमा समेत फोहोर व्यवस्थापनले निकै जटिल चुनौती सिर्जना गरेको छ । दीर्घकालीन फोेहोर व्यवस्थापनको चुनौती एकातर्फ छ भने अर्कोतर्फ बढ्दो बेरोजगारीले थप चुनौती थपिरहेको छ ।
एउटा सामान्य जिन्दगी जिउन चाहिने आधारभूत आवश्यकता गाँस, बाँस र कपासकै लागि मानिसहरू आफ्नो ज्यान नै जोखिममा राखेर जस्तोसुकै जोखिमयुक्त काम गर्न बाध्य छन् । जोखिमपूर्ण तरिकाले ल्यान्डफिल साइटमा आफ्नो जिन्दगीका नयाँ तानाबाना बुन्दै त्यही फोहोरको डंगुरमा मान्छेहरू बाचिँरहेका छन् भनेको सुन्दा अचम्म लाग्नसक्छ तर बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडामा उपमहानगरले फोहोर संकलन गरेर फाल्ने हेटौंडा–१० राप्तीखोला किनारमा यस्तै दृश्य देख्न सकिन्छ ।
करीब ६५ जना दैनिकजसो फोहोर संकलन गरेर फालेको ल्यान्डफिल साइटमा फोहोरमा मोहर खोज्दै बाचिँरहेका छन् ।
ल्यान्डफिल साइटमा अधिकांश मानिसहरू हेटौंडा र केही संख्यामा बाहिरबाट आएर वर्षाैंदेखि फोहोरमा काम गर्दै आएका छन् । उनीहरूको प्रायः कसैको पनि आफ्नो घर छैन । केही संख्यामा जंगलमै बस्छन् भने केही संख्यामा कोठा भाडामा लिएर बसेका भेटिन्छन् । कोठा भाडामा लिएर बसेकाहरू बिहानै फोहोरमा पुग्छन् भने साँझ घर फर्किन्छन् ।
जंगलमा निकै कष्टकर जीवन बिताइरहेकाहरू पनि फोहोरसँगै आएका खानेकुरा र केही सामान पसलबाट ल्याउँछन् । जंगलमै पकाएर खान्छन्, सुत्छन् र बिहान सबेरै उठेर आफ्नो दिनचर्यामा लाग्छन् ।
फोहोरमा प्लास्टिकका बोत्तल, सिसाका बोत्तल लगायत प्रयोगमा आउने वस्तुहरू खोजेर नजिकै रहेको फोहोर प्रशोधन गर्ने स्थानमा लैजान्छन् र बिक्री गर्छन् । उनीहरूले सामानको बिक्रीबाट आएको पैसाले नै जीविका चलाउँछन् ।
वरिष्ठ पत्रकार एवं लेखक विजयकुमार पाण्डे पुस्तक सम्बन्धहरूमा उल्लेख गर्छन्, ‘मानिसभित्र घाउ छ । कुनै न कुनै चोट नलागेको कोही छैन । कसैले आफ्नो चोटलाई बढी घनत्वमा महसूस गर्लान् । कसैले अलि कम । कोही देखाउँछन् । कोही लुकाउँछन्। कसैले व्यक्त गर्छन्, कसैले गर्दैनन् तर घाउ नलागेको मान्छे हुँदैन ।’ भनिए जस्तै उनीहरू पनि आफ्नो पीडा लुकाउँदै जीवन धान्नकै लागि सामान्य व्यक्ति एकछिन पनि बस्न नसक्ने स्थानमा फोहोरमैलालाई आफ्नो सारथि बनाउन बाध्य छन् ।
फोहोरमा बच्चादेखि वृद्धसम्म सामान्य स्वस्थ्य सुरक्षाको पनि वास्ता नगरी फोहोर केलाइरहेका भेटिन्छन् । कसैका परिवार छैनन् भने कसैका छोराछोरीले वास्ता नगरेपछि खर्च जुटाउन फोहोरको काममा लाग्नुपरेको बताउँछन् । केही संख्यामा पढ्ने उमेरका साना बच्चाहरू समेत आमाबुवासँगै फोहोर संकलन गर्दै गरेको अवस्थामा भेटिन्छन् । कोही मान्छेहरू परिवारसहित जंगलमै बस्छन् । उनीहरूलाई घामपानी केहीको पर्वाह नै देखिँदैन, निरन्तर आफ्नो र परिवारको पेट भर्न फोहोरमै जिन्दगीको नयाँ अध्याय खोजिरहेका हुन्छन् ।
यस्तै अवस्थामा भेटिएका मुक्तिबहादुर क्षेत्रीले फोहोरमा काम गर्न मन नभए पनि बाध्यतामा गर्नुपरेको बताए । फोहोर संकलन गर्दै त्यसको बिक्रीबाट आफ्नो घर चलाउँदै आएका क्षेत्रीको परिवारमा उनका बुवा र आमा रहेका छन् । दैनिक २००–३०० रुपैयाँ कमाइ हुने गरेको बताउँदै उनले भने, ‘म ५३ वर्षको भएँ । मेरो घरमा आमाबुवा हुनुहुन्छ । आमाले आँखा देख्न सक्नुहुन्न । बुवा ७३ वर्ष हुनुभयो, काम गर्न सक्नुहुन्न । बाँच्नका लागि सास मात्र फेर्नेको लागि भए पनि यो काम गर्दै आएको छु ।’
आफूसँग कुनै उपाय नभएपछि फोहोरमा वस्तु संकलनको काम गरेको भन्दै उनले यसबाटै परिवारको दैनिक २ छाक जसोतसो गरेर चलाएको बताए । हेटौंडा–११ घर बताउने सीता थिङ्गका ३ छोरी र १ छोरा छन् । छोरीहरूको बिहे भइसकेको र छोराले नहेरेपछि यस्तो कार्य गर्नुपरेको उनले बताइन् । ५२ वर्षीया उनले भनिन्, ‘छोराछोरीलाई दुःख गरेर ऋणधन गरेर हुर्काएँ, बढाएँ । छोराले बिहे गरेपछि हेर्न छोड्यो । छोरीहरूको बिहे भइहाल्यो, ऋण छ, धेरै तनाव छ मलाई । बाँचु कसरी बाँचु ? मरु कसरी मरु ? भा’छ मलाई ।’
संकलित फोहोरको बिक्रीबाट हप्ताका १३–१४ सय मात्रै हुने गरेको बताउँदै उनले त्यो पैसा पनि चियापानी गर्दै सकिने बताइन् । टोल समाजमा मान्छेहरूले यस्तो कार्य गरेको भन्दै धेरै नराम्रो बोली–व्यवहार गर्ने गरेको बताइन् ।
यस्तै देवकी क्षेत्रीको पनि आफ्नै दुःख छ । २५ वर्षीया उनका पतिले केही दिनअघि राप्ती खोलाको पुलबाट हामफाली जीवन त्यागेका उनले सुनाइन् । ७ वर्षका २ जुम्ल्याहा छोरी रहेका उनको घर चलाउनेदेखि छोरीहरूको पढाइसम्म त्यहीँबाट आएको पैसाले चल्छ । हप्तामा ८०० देखि २ हजार रुपैयाँ मात्र कमाइ हुने सुनाउँदै उनी भन्छिन्, ‘मैले त दुःख पाए, छोरीहरूलाई पढाउन चाहन्छु तर खान नै मुस्किल छ, अहिले जसोतसो गर्दैछु । कसैले पढाइदिए धर्म हुथ्यो ।’
हेटौंडा–११ मै बसोबास गर्ने लक्ष्मीमाया तामाङ पनि परिवारसहित सोही क्षेत्रमा काम गर्छिन् । विगत केही वर्षयता आर्थिक स्थिति कमजोर भएपछि फोहोर संकलन गर्ने ल्यान्डफिल साइटमा काम गर्न बाध्य भएको बताउँछिन् उनी । हप्तामा १ हजार ५०० देखि २ हजार रुपैयाँसम्म कमाइ हुने बताउँदै उनले खानकै लागि धौंधौं रहेको सुनाइन् ।
उनले भनिन्, ‘छोरा १६–१७ वर्ष भयो । धोक्रो बोकेर यही काम गर्दैछ । पढाएर केही गराउँछु भन्ने सोच्थें । केही गरोस् भन्ने सोच्थें । हामीले जस्तो दुःख भोग्नु नपरोस् भन्ने लाग्थ्यो सधै तर पढाउन सकिनँ ।’
यस्तै ६३ वर्षीया तिलकुमारी थापाका पति, छोराबुहारी, र नातिनातिनी छन् । उनका छोरा विदेशमा छन् तर आमाले फोहोरको डंगुरमा काम गर्नुपरेको छ । छोराले कमाइ नभएको भन्दै पैसा नपठाएपछि आफैैं काम गर्नुपरेको उनले बताइन् । विगत १ वर्षदेखि यस्तो काम गर्दै आएको बताउँदै उनले भनिन्, ‘दैनिक २००–४०० रुपैयाँ कमाइ हुन्छ । कोठा भाडा ५ हजार रुपैयाँ छ । खानुपर्यो, कोठाभाडा तिर्नुपर्यो । गाह्रो छ मलाई । खानकै लागि, बाच्नकै लागि त केही न केही काम गर्नैपर्यो नि !’
यस्तै १७ वर्षीया अन्जु साह हेटौंडा–११ मा बुवा र कान्छी आमासँग बस्छिन् । ३ कक्षा अध्ययन गर्दागर्दै आर्थिक अवस्था कमजोर भएकै कारण उनले बीचमै पढाइ छाड्नुपरेको उनले बताइन् । उनले भनिन्, ‘मलाई पढ्न मन छ तर मसँग पैसा छैन । कसैले सहयोग गरे म पनि स्कूल जान्छु पढ्न ।’ सानैदेखि यस्तो काम गर्नुपरेको बताउँदै उनले दैनिक ४०० रुपैयाँ कमाइ हुने बताइन् ।
विगत केही वर्षयता काभ्रेबाट हेटौंडामा आएर परिवारसहित बसोवास गर्ने १२ वर्षीया रेजिना श्रेष्ठ पनि ल्यान्डफिल साइटमा भेटिइन् । परिवारको आर्थिक अवस्था कमजोर भएपछि परिवारसहित उनी पनि फोहोरमा वस्तु संकलनको काम गर्दै आएकी छन् । उनले आफूजस्तै साथीहरू पोशाकमा विद्यालय जाँदा आफूलाई पनि विद्यालय जान धेरै मन लाग्ने गरेको सुनाइन् । उनले भनिन्, ‘मलाई पनि पढ्न मन छ, कसैले आएर मलाई पढाइदिए म पढ्छु ।’