
विश्वका महानतम फूटबलरहरूमध्ये एक पेलेको ८२ वर्षको उमेरमा शुक्रवार देहान्त भएपछि उनको योगदानका विषयमा चर्चा भइरहेका छन् ।
ब्राजिललाई तीनपटक विश्वकप जिताएका पेलेको पूरा नाम एड्सन आरान्तेस दो नासिमेन्तो थियो । सन् १९४० अक्टोबर २३ मा ब्राजिलको एक सामान्य परिवारमा उनको जन्म भएको थियो ।
उनका मातापिताले बल्बका आविष्कारक टमस एल्भा एडिसनको थरबाट उनको नाम राखेका थिए । बल्ब जस्तै पेलेले पनि आफ्नो अद्भुत खेलमार्फत विश्वलाई नै प्रकाशित गरेका थिए ।
गरीब परिवारमा जन्मेका पेलेले आफ्नो परिवारलाई आर्थिक सहयोग गर्नका लागि स्थानीय ट्रेन स्टेसनमा अर्काको जुत्ता सफा गरिदिने गरेका थिए । त्यसैक्रममा उनलाई फूटबलप्रति रस बसेको थियो ।
उनले आफ्नो टोलका साथीहरूसँग मिलेर फूटबल टीम बनाएका थिए । टीमले आफूलाई जुत्ताविहीनहरूको समूह भन्थ्यो । जुत्ता लगाउन सक्ने पैसा पनि उनीहरूसँग थिएन ।
उनीहरू फूटबल पनि किन्न सक्दैनथिए । त्यसैले मोजामा कागज कोचेर उनीहरू खेल्ने गर्थे ।
पेले नामक कसरी पर्न गयो भन्नेमा पनि रोचक कथा छ । परिवारले उनलाई माया गरेर डिको नाम दिएका थिए ।
उनी विद्यालयमा पढ्दै गर्दा भास्को द गामा नामको स्थानीय क्लबका गोलकीपरको नाम बिले थियो ।
त्यो नाम उच्चारण गर्न नजानी पिले भनेपछि उनका एक सहपाठीले उनलाई पेले नाम दिएका थिए । पेले भनी बोलाउँदा रिसाएर साथीलाई उनले मुक्का हानेको पनि बताइन्छ । तर त्यही नामले उनी विश्वविख्यात बने ।
पेलेले व्यावसायिक फूटबलको आरम्भ सन् १९५६ मा गरेका थिए । जम्मा १५ वर्षको उमेरमा उनी सान्तोस क्लबमा आबद्ध भएका थिए । कोरिनथियन्स सान्तो आन्द्रे क्लबविरुद्ध सफल खेलपछि उनले सान्तोस क्लबमा १८ वर्ष खेलेका थिए ।
अनि सन् १९५७ मा पेलेले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । ब्राजिलको कट्टर प्रतिस्पर्धी अर्जेन्टिनाविरुद्ध उनले उक्त गोल गरेका हुन् ।
पेलेले आफ्नो देशका लागि विश्वकप जिताउने संकल्प लिएको विषयमा मार्मिक कथा छ । सन् १९५० को विश्वकपमा आयोजक ब्राजिल फाइनलमा उरुग्वेसँग हारेको थियो । त्यतिखेर पेले जम्मा नौ वर्षका थिए ।
त्यस समयमा टेलिभिजन आइसकेको थिएन अनि पेलेको परिवारले खेलको कमेन्ट्री रेडियोमा सुनेको थियो । पेले आफू चाहिँ फूटबल खेल्दै घरभित्र र बाहिर गरिरहेका थिए अनि घरिघरि स्कोर पनि बुझिरहेका थिए ।
खेल सकिएर ब्राजिल हारेपछि पेलेले आफ्ना बुवालाई पहिलोपटक रोइरहेको देखे । पेलेका बुवा पनि प्रख्यात फूटबलर थिए । बुवाको आँसुबाट मर्माहत भएका पेलेले विश्वकप ट्रफी जसरी भए पनि ब्राजिललाई जिताउने संकल्प लिएका थिए ।
आफ्नो खेल कौशल तथा देशलाई विश्वकप दिलाउने दृढ संकल्पका साथ सन् १९५८ को विश्वकपमा पेले सहभागी भए । त्यसपछि उनको नाम संसारले जान्ने मौका पायो । उक्त प्रतियोगितामा उनले ६ गोल गरेका थिए ।
स्विडनमा भएको विश्वकपको समूह चरणमा जम्मा एउटा खेल खेलेका पेलेले क्वार्टरफाइनलमा अद्भुत खेल देखाउँदै वेल्सविरुद्ध गोल गरी ब्राजिललाई जिताएका थिए । अनि सेमिफाइनलमा पेलेले ह्याटट्रिक गरी फ्रान्सलाई ध्वस्त बनाएका थिए ।
फाइनलमा ब्राजिलको भिडन्त आयोजक स्विडनसँग भएको थियो र त्यसमा ब्राजिल ५–२ ले विजयी भयो । उक्त खेलमा पेलेले २ गोल गरेका थिए ।
छातीमा बल लिएर गोडामा झार्दै दौडाएर गोलकीपरलाई छक्याउने कलामा पेलेको बराबर कोही नभएको विश्लेषकहरू बताउँछन् । अनि हावामा बुरुक्क उफ्रन सक्ने उनको क्षमताका कारण उनले आफ्नो करीयरमा हेडरमार्फत पनि धेरै गोल गरेका छन् । ती सबै कलाहरू उनले विश्वकपमा देखाए ।
सन् १९५८ को विश्वकपबाट विश्वविख्यात बनेका पेले सन् १९६२ को विश्वकपमा त सुपरस्टार भइसकेका थिए । तर उनलाई तत्कालीन सरकारले अनिवार्य सैन्य सेवा गर्न लगाएको थियो ।
सेनामा हुँदा पेलेले ब्राजिल, सान्तोस क्लब, आफ्नो प्रदेशको क्लब, सेनाको राष्ट्रिय टोली तथा ब्यारेकको टोलीका लागि खेल्नुपरेको थियो । धेरै खेल खेल्नुपर्दा उनको काखीमा दखल पर्न थालेको थियो ।
चिलीमा भएको सन् १९६२ को विश्वकपको पहिलो खेलमा नै पेलेले मेक्सिकोविरुद्ध गोल गरेका थिए । पाँच विपक्षी खेलाडीलाई छलाएर उनले गरेको त्यो गोल विश्वकप इतिहासकै सुन्दरमध्ये एक मानिन्छ ।
दोस्रो खेलमा चेकोस्लोभाकियाविरुद्ध खेल्दै गर्दा पेलेलाई काखीमा समस्या आयो । त्यो जमानामा सब्स्टिच्युट खेलाडीको व्यवस्था नभएकाले दुखे पनि खेलिरहन पेले बाध्य थिए ।
तर त्यसपछिका खेलमा उनी सहभागी हुन सकेनन् । निराश भएर उनी ब्राजिल फर्किन खोजेका थिए । तर ब्राजिल फाइनलमा चेकोस्लोभाकियासँग पुनः भिड्ने भएपछि पेलेलाई पनि टीममा राखिएको थियो भलै उनले खेलेनन् ।
तर ब्राजिलले उक्त खेल ३–१ ले जितेको थियो । पेलेको स्थानमा खेलेका आमारिल्डोले पहिलो गोल गरेका थिए भने जिटो र भाभाले दुई गोल थपेका थिए । खेल्न नपाए पनि पेलेले दोस्रोपटक विजेताको पदक पहिरिने मौका पाएका थिए । इटलीपछि विश्वकप उपाधि रक्षा गर्ने ब्राजिल दोस्रो टीम बनेको थियो जुन रेकर्ड अहिलेसम्म कायम छ ।
सन् १९६६ को विश्वकप इंग्ल्यान्डमा भएको थियो र ब्राजिल नै उपाधिको सर्वाधिक बलियो दाबेदार थियो । तर घमण्डले चुर भएको अनि राम्रो तयारी नगरेको ब्राजिल समूह चरणमै बाहिरियो । तथापि पेलेले बुल्गेरियाविरुद्धको पहिलो खेलमा गोल गरेका थिए ।
त्यस प्रतियोगितामा अत्यधिक फाउल गरिएको थियो । पेलेलाई पनि विपक्षी खेलाडीहरूले ताकेरै हिर्काउने र लडाउने गरेका थिए । त्यो देखेर रिसाएका पेलेले अन्तर्राष्ट्रिय फूटबलबाट संन्यास लिने घोषणा गरेका थिए । दुई वर्षसम्म ब्राजिलका लागि खेलेनन् तर साथीभाइले मनाएपछि उनी फर्केका थिए ।
सन् १९७० को विश्वकप मेक्सिकोमा आयोजना गरिएको थियो र त्यसमा संसारले पेलेको खेलकौशलको अनुपम प्रस्तुति हेर्न पायो । पहिलो खेलमा चेकोस्लोभाकियाविरुद्ध पेलेले साथीबाट पाएको क्रसलाई बुरुक्क उफ्रेर छातीमार्फत नियन्त्रण गर्दै गोडामा झारेर गोल गरेका थिए । यससँगै उनी चारवटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका थिए ।
दोस्रो खेलमा इंग्ल्यान्डविरुद्ध उनले गोल गरेनन् तर ब्राजिल त्यसमा विजयी भयो । तेस्रो खेलमा रोमानियाविरुद्ध चाहिँ पेलेले दुई गोल गरे ।
क्वार्टरफाइनलमा पेरु अनि सेमिफाइनलमा उरुग्वेलाई ब्राजिलले हराउँदा पेलेले गोल गर्न सकेनन् । तर इटलीविरुद्धको फाइनलमा पेलेले खेलको १८ मिनेटमा नै हेडरमार्फत बुलेट गोल गरी ब्राजिललाई अग्रता दिलाए । इटलीले पछि एक गोल फर्काएको भए पनि ब्राजिलले दुई गोल थपेर उक्त खेल ४–१ ले जितेको थियो ।
तीनपटक विश्वकप जितेपछि ब्राजिलले जुल्स रिमे भनिने ट्रफी सधैंका लागि आफूसँग राख्न पायो ।
आफ्ना बुवा सन् १९५० मा रोएको कुराले दृढसंकल्पित बनाएका पेलेले ब्राजिललाई विश्वकप ट्रफी सदाका लागि राख्न योगदान गरे ।
त्यसको अर्को वर्ष सन् १९७१ मा पेलेले अन्तर्राष्ट्रिय फूटबलबाट संन्यास लिएका थिए । त्यसक्रममा उनले ९२ वटा खेल खेलेर ७७ गोल गरे ।
वास्तवमा पेलेले विश्वकपहरूमा देखाएको अद्भुत खेलकौशल नै उनलाई सम्झिने प्रमुख कारणका रूपमा रहेको छ । यसैले गर्दा यस आलेखमा पनि उनको विश्वकप सहभागिताको बारेमा बढी चर्चा गरिएको हो ।
उनले विश्वकपमा कुल १२ गोल गरेका छन् । तर गोलसंख्या भन्दा पनि उनको उपस्थितिले ब्राजिल टीमको खेलमा पारेको प्रभाव अविस्मरणीय छ ।
तर क्लब स्तरमा पनि उनले अत्यधिक खेल खेल्दै टन्न गोल गरेका छन् । उनी सान्तोस क्लबमा सन् १९५६ देखि १९७४ सम्म आबद्ध रहे । त्यसक्रममा उनले ६३६ खेल खेल्दै ६१८ गोल गरेका थिए ।
उनले सान्तोस क्लबलाई ६ पटक राष्ट्रिय उपाधि र दुईपटक दक्षिण अमेरिकी कोपा लिबर्टाडोरर्स उपाधि दिलाएका छन् । उनी अहिलेसम्म पनि सान्तोस क्लबका सर्वाधिक गोलकर्ता हुन् ।
त्यसपछि चाहिँ उनी अमेरिका गएर न्यु योर्क कसमस नामक क्लबमा जोडिए । सन् १९७५ देखि १९७७ सम्म उक्त क्लबका लागि ६४ खेल खेल्दै उनले ३७ गोल गरेका थिए ।
क्लबहरूले असाध्यै धेरै विश्व भ्रमण गराउने हुनाले त्यसमै व्यस्त भएर पेलेले ब्राजिललाई कोपा अमेरिका उपाधि दिलाउनका लागि चाहिँ योगदान गर्न पाएनन् ।
सन् १९७७ मा फूटबलबाट पूरै संन्यास लिएपछि पेले मानवीय सहायताका अनेकौं कार्य गरे ।
उनी संयुक्त राष्ट्रसंघका सद्भावना दूत रही वातावरण संरक्षण तथा भ्रष्टाचारविरुद्धको अभियानमा पनि संलग्न थिए । अनि उनले जातिविभेदविरुद्ध फिफाको दूतका रूपमा पनि काम गरेका थिए ।
यसबाहेक उनले विभिन्न परोपकारी कामका लागि विशाल रकम जुटाउन पनि योगदान गरेका छन् ।
पेले तीन वर्षका लागि ब्राजिलका खेलकुदमन्त्री पनि भएका थिए । सन् १९९५ देखि १९९८ सम्म मन्त्री हुँदा उनले फूटबल संघहरूमा हुने भ्रष्टाचार अन्त्य गर्न विभिन्न नीति ल्याएका थिए । उनले खेलकुद र स्वस्थ जीवनलाई प्रवर्धन गर्न पनि योगदान गरेका थिए ।
संसारभरिका फूटबल खेलाडीहरूका लागि पेले प्रेरणाका स्रोत हुन् । पेलेले देखाएका कतिपय खेलकौशललाई अहिलेका सुपरस्टार खेलाडीहरू लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोले समेत अनुकरण गर्ने गरेका छन् ।
संसारमा सर्वाधिक रुचाइने खेल फूटबलका कुशल खेलाडी पेलेलाई हार्दिक श्रद्धाञ्जलि !