
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ ।
भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका–२ निवासी छ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
००००
फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एच' को अन्तिम खेलमा स्पेनसँग १-० ले पराजित भएसँगै पूर्व च्याम्पियन उरुग्वे प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ।
शनिबार एस्ताडियो गुआडालाजारामा भएको प्रतिस्पर्धात्मक खेलमा जित निकाल्दै स्पेन समूह विजेताको रूपमा नकाउट चरणमा प्रवेश गरेको हो।
००००
फुटबल विश्वकपमा टोली संख्या थप्ने फिफाको निर्णयमाथि शंका गर्नेहरूका लागि यो विश्वकप एउटा गतिलो जवाफ बनेको छ ।
मात्र ५ लाख जनसंख्या भएको अफ्रिकी टापु राष्ट्र केप भर्डेले विश्वकप इतिहासकै सबैभन्दा ठूलो चमत्कार गर्दै नकआउट चरणमा पुगेर इतिहास रचेको छ।
यसलाई सन् २०१६ मा लेस्टर सिटीले प्रिमियर लिग जितेयताकै फुटबल इतिहासको सबैभन्दा ठूलो र अविश्वसनीय उपलब्धि मानिएको छ।
००००
विश्वकप २०२६ अन्तर्गत समूह 'आई' को अन्तिम खेलमा सेनेगलले इराकलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ।
टोरन्टो स्टेडियममा भएको खेलमा सानदार प्रदर्शन गर्दै सेनेगलले नकआउट चरणमा पुग्ने आफ्नो सम्भावनालाई बलियो बनाएको छ भने इराक प्रतियोगिताबाट बाहिरिएको छ।
००००
ओस्मान डेम्बेलेको सानदार ह्याट्रिकको मद्दतले फ्रान्सले विश्वकप फुटबल अन्तर्गत समूह 'आई' को अन्तिम खेलमा नर्वेलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ।
गएराति बोस्टन स्टेडियममा भएको जितसँगै फ्रान्स समूह विजेता बन्दै अन्तिम ३२ मा प्रवेश गरेको छ भने हारका बाबजुद नर्वे उपविजेताको रूपमा अर्को चरणमा पुगेको छ।
००००
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार साँझ उनलाई पक्राउ गरेको हो। सिआइबीका अनुसार हात्तीगौँडास्थित टुङ्गराम इन्टरनेशनल एकेडेमीको कार्यकारी प्रमुखका रूपमा कार्यरत रहँदा शेर्पाले विभिन्न प्रपञ्च गरी विद्यालयको आठ करोड ७८ लाख ३० हजार रुपैयाँ अपचलन गरेको आरोपमा अनुसन्धान अघि बढाइएको छ।
००००
अमेरिका र इरानबीच भर्खरै भएको युद्धविराम सम्झौता उल्लंघन गर्दै इरानी सेनाले एक व्यावसायिक मालवाहक जहाजमाथि ड्रोन आक्रमण गरेपछि अमेरिकी सेनाले जवाफी हमला गरेको छ ।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार गएराति हर्मुज जलमार्ग वरपर रहेका इरानी मिसाइल तथा ड्रोन भण्डारण स्थल र तटीय राडार केन्द्रहरूलाई लक्षित गरी अमेरिकी लडाकु विमानहरूले आक्रमण गरेका हुन् ।
००००
भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । गत बुधबार केही सेकेन्डको अन्तरालमा आएका दुई ठूला भूकम्पमध्ये दोस्रो ७.५ म्याग्निच्युडको रहेको थियो ।
००००
चितवनको भरतपुरस्थित उद्योग संघ परिसरमा आइतबारदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन शुक्रबार समापन भएको छ ।
६ दिनसम्म चलेको राजनीतिक सरगर्मी र मन्थनपछि रास्वपाले आफ्नो नेतृत्वमा संस्थापक सभापति रवि लामिछानेलाई नै निरन्तरता दिएको छ भने पार्टीको वैचारिक आधारमा फेरबदल गरेको छ । मधिवेशनबाट रास्वपालाई एउटा अभियानबाट सुस्पष्ट विचार र वैधानिकतासहितको राजनीतिक दलका रूपमा रूपान्तरण गर्ने प्रयास गरिएको सभापति लामिछानेले बताए ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा सम्पन्न प्रथम महाधिवेशनले पार्टीको नयाँ नेतृत्व र केन्द्रीय कार्यसमिति चयन गरेको छ।
शुक्रबार सम्पन्न महाधिवेशनले ७ पदाधिकारी र ९९ केन्द्रीय सदस्य गरी कुल १०६ सदस्यीय समिति निर्वाचित गरेको हो।
महाधिवेशनबाट सभापति पदमा रवि लामिछाने र उपसभापतिमा डा. स्वर्णिम वाग्ले सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। अन्य ५ पदाधिकारी भने निर्वाचन प्रक्रियामार्फत चुनिएका हुन्।
निर्वाचित पदाधिकारीहरूमा महिला उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिन कुमार आचार्य, सहमहामन्त्रीहरूमा हरि ढकाल र असिम शाह तथा महिला सहमहामन्त्रीमा निशा डाँगी रहेका छन्।
महाधिवेशनले ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचनमार्फत चयन गरेको छ । सभापति पदमा रवि लामिछाने र उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भए । वाग्लेको विरुद्धमा अन्य कुनै उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत चुनिएका हुन् ।
यद्यपि, महामन्त्री र सहमहामन्त्री जस्ता महत्वपूर्ण पदहरूमा भने निर्वाचनमार्फत नेतृत्व छानियो ।
००००
रास्वपाको चितवन महाधिवेशनबाट फेरि सभापतिमा निर्वाचित रवि लामिछानेले पार्टीभित्र गुटबन्दी स्वीकार्य नहुने बताएका छन् ।
शुक्रबार साँझ महाधिवेशनस्थलमै पद तथा गोपनीयताको शपथ लिएपछि सम्बोधन गर्दै लामिछानेले जसले पार्टीभित्र गुटबन्दीको खेती गर्न खोज्छ, त्यसको जरा उखेल्ने बताए ।
००००
प्रतिनिधिसभा बैठकको मिति फेरि परिवर्तन भएको छ ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले शुक्रबार सूचनामार्फत आगामी बैठक असार १४ गते आइतबार बिहान ११ बजे बस्ने जानकारी दिएका हुन् ।
००००
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेसँग तत्कालै सहकार्य शुरू हुने बताएका छन् ।
विराटनगरमा शुक्रबार आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
वामपन्थी शक्तिहरू मात्रै नभएर लोकतान्त्रिक पार्टी जसपासँग पनि कुरा भइरहेको उनले बताए ।
महाधिवेशनमा अर्को क्रमभंग हुने उनले बताए । 'प्रचण्डको अन्तिम क्रमभंग हेर्नुस् अब कस्तो हुन्छ,' उनले भने ।
००००
धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार झिनो अङ्कले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक दुई अङ्कले ओरालो लागेर दुई हजार ६४९ दशमलव ५१ मा पुगेको भएको छ ।
००००
पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ । विभागले विभिन्न प्रयोगशालामार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढाएको हो ।
काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा सङ्क्रमणको जोखिम बढी देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकता राखिएको विभागका महानिर्देशक डा उमेश दाहालले बताए । उनका अनुसार तीन महिना अघि शुरू भएको सङ्क्रमण विभिन्न ११ जिल्लामा फैलिएको छ ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनबाट संघीयता पुर्नसंरचनाको नाममा प्रदेश खारेजीको षड्यन्त्र गरेको भन्दै गण्डकी प्रदेश सभामा विरोध भएको छ ।
शुक्रवार बसेको प्रदेश सभा बैठकमा नेकपा संसदीय दलका नेता हरिबहादुर चुमानले संघीयताको पुर्नसंरचनाको शब्दजाल बुनेर प्रदेश खारेजीको षड्यन्त्र भएको आरोप लगाएका हुन् ।
००००
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सह–संयोजक माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटघाट गरेका छन् । पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र नेपाल नेता कोइरालालाई भेट्न विराटनगरस्थित निवासमै पुगेका थिए ।
झन्डै ४५ मिनेट चलेको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन र कांग्रेसको वर्तमान अवस्थाबारे छलफल भएको थियो ।