अब तपाईंले आफ्नो आवश्यकताका लागि किनेको सामानका कारण लखपति बन्न सक्नुहुन्छ । त्यो पनि, व्यापार गर्ने पसलेले होइन, सरकारले नै तपाईंलाई लखपति बनाउनेछ ।
तपाईं पसलमा सामान किन्नुहुन्छ, वा रेस्टुरेन्टमा खाजा खानुहुन्छ । पैसा तिरेपछि काउन्टरबाट साहुजीले एउटा बिल दिन्छन् । तर, तपाईं त्यो बिल कि त त्यहीँ छोडेर हिँड्नुहुन्छ, कि गोजीमा कोचेर पछि डस्टबिनमा फाल्नुहुन्छ । होइन त ?
यदि तपाईंको बानी यस्तै छ भने, तपाईंले सायद थाहै नपाई लाखौं रूपैयाँ गुमाउनुपर्नेछ । सुन्दा पत्यार नलाग्न सक्छ, तर अब तपाईंले सामान किन्दा लिने त्यही सामान्य बिल, तपाईंलाई लखपति बनाउने ‘चिठ्ठाको टिकट’ बन्न सक्छ ।
कर प्रणालीलाई पारदर्शी बनाउन र नागरिकमा ‘बिल लिने संस्कार’ विकास गर्न सरकारले एउटा निकै आकर्षक योजना सञ्चालनमा ल्याएको छ- जसको नाम हो, ‘लखपति उपहार योजना ।’ यो कुनै हावादारी गफ होइन, राज्यको आधिकारिक ‘नगद उपहार योजना’ हो ।
कसरी बन्ने त लखपति ? नियम एकदमै सरल छ ।
तपाईंले भ्याट (VAT) वा प्यान (PAN)मा दर्ता भएका जुनसुकै व्यवसायीबाट कम्तीमा १०० रूपैयाँ वा त्यो भन्दा बढीको सामान किन्दा बिल लिनुपर्नेछ ।
सबैभन्दा मज्जाको कुरा त के छ भने, यदि तपाईंले सामान किनेपछि क्युआर कोड (QR Code) वा एटीएम कार्डमार्फत ‘डिजिटल पेमेन्ट’ गर्नुभयो भने, तपाईंले केही गर्नै पर्दैन । तपाईं यो उपहार योजनाको लक्की ड्रमा स्वतः सहभागी हुनुहुनेछ ।
तर, यदि तपाईंले नगद नै भुक्तानी गर्नुभएको छ भने पनि चिन्ता लिनु पर्दैन ।
आन्तरिक राजस्व विभागको मोबाइल एप वा वेब पोर्टलमा गएर आफ्नो बिल नम्बर, प्यान नम्बर र रकम प्रविष्ट गरेपछि तपाईं पनि यो योजनामा जोडिनुहुनेछ ।
अब कुरा गरौँ, उपहार कति पाइन्छ त ? सरकारले दिने उपहार साँच्चै लोभलाग्दो छ । यसलाई दुई भागमा बाँडिएको छ :
पहिलो, दैनिक उपहार । हरेक दिन ‘स्वचालित विद्युतीय प्रणाली’बाट एकजना भाग्यशाली विजेता छानिन्छन् । ती विजेताले हरेक दिन १ लाख ३३ हजार ३ सय ३४ रूपैयाँ प्राप्त गर्नेछन् ।
दोस्रो, बम्पर उपहार । हरेक १५ दिनमा छानिने एक जना महा-भाग्यशाली विजेताले पाउनेछन् एकमुस्ट- १० लाख रूपैयाँ !
तर, एउटा कुरामा प्रष्ट हुनुहोला, कानूनअनुसार चिठ्ठा वा उपहारमा २५ प्रतिशत ‘आकस्मिक लाभ कर’ लाग्छ । त्यसैले, यो कर कट्टी गरेर बाँकी रहने शुद्ध रकम मात्र तपाईंको बैंक खातामा पठाइनेछ ।
तर ध्यान दिनुस्, यो योजना आम सर्वसाधारण अर्थात् व्यक्तिगत प्रयोजनका लागि सामान वा सेवा खरिद गर्ने प्राकृतिक व्यक्तिका लागि मात्र हो ।
व्यावसायिक प्रयोजनका लागि लिइएका बिल, सरकारी संस्थाका बिल, अनि टेलिफोन, इन्टरनेट, बिजुलीको महसुल र हवाई टिकटका बिलहरू भने यो योजनामा मान्य हुने छैनन् ।
त्यसो भए नतिजा कहिले आउँछ र पैसा कसरी लिने त ?
प्रत्येक महिनाको १ गते र १६ गते भाग्यशाली विजेताहरूको नतिजा सार्वजनिक गरिनेछ । यदि तपाईं विजेता बन्नुभयो भने, तपाईंको मोबाइलमा सिधै एसएमएस (SMS) वा इमेल आउनेछ ।
पुरस्कार दाबी गर्न विजेताले १५ दिनभित्र नजिकैको आन्तरिक राजस्व कार्यालयमा गएर सक्कल बिल, नागरिकताको प्रतिलिपि र आफ्नो प्यान (PAN) नम्बरसहित निवेदन दिनुपर्नेछ ।
सबै प्रक्रिया पुगेको मात्र १० दिनभित्र त्यो रकम सिधै तपाईंको बैंक खातामा जम्मा हुनेछ ।
त्यसैले, अबदेखि पसल, सुपरमार्केट वा रेस्टुरेन्ट जहाँ गए पनि सामान किनेपछि बिल लिन नभुल्नुहोला । तपाईंले लिने एउटा सानो बिलले राज्यको ढुकुटीमा कर जम्मा गर्न मद्दत त गर्छ नै, सँगसँगै तपाईंलाई रातारात लखपति बन्ने सुवर्ण अवसर पनि दिन्छ ।
भिडियो सामग्री :