२०७२ साल वैशाख १२ को त्यो त्रासदीपूर्ण दिन, जसले हाम्रा थुप्रै ऐतिहासिक धरोहरहरूलाई भग्नावशेषमा परिणत गर्यो ।
त्यही विनाशकारी भूकम्पको गहिरो घाउ बोकेर लामो समयदेखि मृत्युशय्यामा छट्पटाइरहेको नेपालकै जेठो शैक्षिक धरोहर— त्रिचन्द्र क्याम्पस, अन्ततः अब उठ्दैछ ।
इतिहासको यो जीवन्त साक्षीले काँचुली फेर्न लागेको छ ।
काठमाडौंको मुटुमा ठडिएको घण्टाघर र त्यसकै आडमा रहेको शताब्दी पुरानो त्रिचन्द्र क्याम्पस केवल इँटा र माटोको संरचना मात्र होइन, यो नेपालको उच्च शिक्षाको मुहान हो ।
तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले वि.सं. १९७५ मा स्थापना गरेको यो क्याम्पसले १०७ वर्षभन्दा लामो इतिहास बोकेको छ ।
विगतका अनेकौँ साना-ठूला भूकम्पका झट्काहरू सहँदै जीर्ण बनेको यो विरासतलाई जोगाउन अहिले प्रबलीकरण अर्थात् 'रेट्रोफिटिङ' (Retrofitting) को काम तीव्र गतिमा भइरहेको छ ।
खुसीको कुरा के छ भने, ऐतिहासिक संरचनालाई पुरानै गौरव र पहिचानमा फर्काउने यो महाअभियानको करिब ७५ प्रतिशत भौतिक प्रगति भइसकेको छ ।
चालु आर्थिक वर्षभित्रै यो सम्पूर्ण काम सम्पन्न गर्ने सरकारको लक्ष्य छ ।
यति लामो कालखण्ड बोकेको पुरातात्त्विक सम्पदालाई आधुनिक प्रविधिको जगमा, तर पुरानै मौलिकता झल्किने गरी संरक्षण गर्नु आफैँमा सामान्य काम थिएन ।
शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको 'केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)' ले यसको सफल नेतृत्व गरिरहेको छ ।
भविष्यमा आउन सक्ने सम्भावित महाभूकम्पबाट समेत सुरक्षित राख्न र यसको आयु बढाउन जमिनमुनिदेखि नै विशेष इन्जिनियरिङ विधिको प्रयोग गरिएको छ ।
संरचनाको जगैदेखि नयाँ बिमहरू राखेर ढलान गरिएको छ ।
फलामको 'आई-बिम' (I-Beam) प्रयोग गरी मजबुत 'ज्याकेटिङ' गरिएको छ, जसले भवनको माथिल्लो तलाको सम्पूर्ण भारलाई सुरक्षित रूपमा जमिनको सतहमा पुर्याउँछ ।
यो पुनर्निर्माणको सबैभन्दा सुन्दर पक्ष भनेको यसको ऐतिहासिक स्वरूप र बनोटमा थोरै पनि सम्झौता गरिएको छैन ।
विभिन्न कालखण्डमा टुक्रा–टुक्रा परेर निर्माण गरिएको यो भवनको मौलिक रूपलाई जस्ताको तस्तै राखिएको छ । परिसरभित्र रहेको तीन तले संरचनामध्ये एउटा भवन पूर्ण रूपमा क्षतिग्रस्त भएकाले त्यसलाई पुरानै निर्माण सामग्री प्रयोग गरेर जगैदेखि पुनर्निर्माण गरिँदैछ भने, बाँकी भागहरूलाई प्रबलीकरणमार्फत बलियो बनाइँदैछ ।
पुरातत्व विभागको कडा मापदण्डभित्र रहेर भवनलाई मौलिक बनाउन सुर्की, चुना, बालुवा, गिट्टी र सिमेन्टको परम्परागत सम्मिश्रण प्रयोग गरिएको छ । भवनको तल्लो भागमा सन्तुलन मिलाउन सिमेन्ट प्रयोग गरिए तापनि, माथिल्ला तलाहरूमा इतिहासको मौलिकता बचाउन सुर्की र चुना मात्र प्रयोग गरिएको छ । भित्री तथा बाहिरी गारोहरूमा स्टिलको पातो राखेर बलियो ज्याकेटिङ गरिएपछि सुर्की र चुनाकै प्लास्टर गरेर पुरानो चमक फर्काइँदैछ ।
यस महत्वपूर्ण परियोजनाका लागि केन्द्रीय आयोजना कार्यान्वयन इकाई र निर्माण व्यवसायी 'न्यू टेक्निकल इन्फ्रा प्रालि' बीच वि.सं. २०७९ साल मंसिर १६ गते सम्झौता भएको थियो ।
भ्याटसहित करिब ४१ करोड रुपैयाँको लागतमा २०८१ साल पुस महिनाभित्रै काम सक्ने सम्झौता थियो । तर, ऐतिहासिक संरचनाभित्र आइपरेका विभिन्न प्राविधिक र व्यावहारिक अड्चनका कारण तोकिएको समयमा काम सम्पन्न हुन सकेन । संवेदनशीलतालाई मध्यनजर गर्दै म्याद थपेर अहिले निर्माण कार्यलाई दिनरात अगाडि बढाइएको छ ।
घण्टाघरको सुइसँगै नेपालको उच्च शिक्षाको समय नापेको यो ऐतिहासिक र पुरातात्विक धरोहर चाँडै नै आफ्नो पुरानो साखमा फर्किने छ । यसको निर्माण समयमै सम्पन्न गरी हजारौं विद्यार्थीको शैक्षिक गतिविधि सहज बनाउनु आजको प्रमुख आवश्यकता हो ।
हेर्नुहोस्, भिडियो :