विश्व फुटबलको महाकुम्भ फिफा विश्वकपको इतिहास रोचक तथ्य र अनगिन्ती किंवदन्तीहरूले भरिएको छ ।
फिफा विश्वकपको इतिहासमा खेलाडीले खाली खुट्टा खेलेको वा जुत्तासँग जोडिएका केही रोचक कथाहरू पनि छन् ।
यस्तै एउटा घटना सन् १९३८ को विश्वकपमा भएको थियो । त्यो अविस्मरणीय घटनासँग जोडिएका पात्र हुन्, ब्राजिलका महान खेलाडी लियोनिडास डा सिल्भा ।
उनले सन् १९३८ को विश्वकपमा पोल्यान्डविरुद्धको खेलमा एउटा यस्तो कीर्तिमानी गोल गरेका थिए, जसको चर्चा आज पनि हुन्छ ।
तर, पहिले कुरा गरौँ डा सिल्भाको बारेमा । आज विश्व फुटबलमा ‘बाइसाइकल किक’ एक सामान्य तर, आकर्षक कला मानिन्छ ।
के तपाईंलाई थाहा छ, यो कलालाई विश्व मञ्चमा परिचित गराउने र यसलाई फुटबलको अभिन्न अंग बनाउने खेलाडी को थिए ?
उनी थिए, तिनै ब्राजिलका महान् स्ट्राइकर लियोनिदास दा सिल्भा, जसलाई संसारले ‘ब्ल्याक डाइमण्ड’ को उप–नामले चिन्छ ।
पेले वा भाभाको युग सुरु हुनुभन्दा निकैअघि नै डा सिल्भाले ब्राजिललाई विश्व फुटबलको शक्ति राष्ट्रका रूपमा उभ्याइसकेका थिए ।
उनले सन् १९९२ देखि सन् १९४६ सम्म राष्ट्रिय टोलीबाट खेल्दै ब्राजिलियन फुटबलको मान र शानलाई उच्च बनाएका थिए । २०औँ शताब्दीको पूर्वार्द्धमा फुटबलको मैदानमा उनको उपस्थितिले मात्र पनि विपक्षीको सातो जान्थ्यो ।
मैदानमा उनको सक्रियता र लचकतालाई देखेर नै युरोपेली पत्रकारहरूले उनलाई ‘होमेम–बोराचा’ अर्थात, ‘रबर म्यान’को उप–नाम पनि दिएका थिए । शरीरलाई जुनसुकै कोणबाट मोडेर गोल गर्न सक्ने उनको क्षमता वास्तबमै अद्भुत थियो ।
उनको खेलजीवनका थुप्रै रोचक कथाहरुमध्ये सन् १९३८ को विश्वकपको एउटा घटना निकै चर्चामा रहन्छ ।
उक्त विश्वकपमा ब्राजिल र पोल्यान्डबीचको खेल हिलाम्य मैदानमा भएको थियो । मैदानको अवस्था निकै खराब थियो ।
खेलका क्रममा डा सिल्भाको जुत्ता नै च्यातियो । जुत्ता मर्मतका लागि उनी मैदान बाहिर जाने फुर्सदमा थिएनन् । च्यातिएको त्यो जुत्ता पनि मैदानको बाक्लो हिलोमा भासिएर उतै अड्कियो ।
त्यसपछि, केही समयका लागि उनी खाली खुट्टा नै मैदानमा ओर्लिए । अनि, रेफ्रीले चाल पाउनु अघि नै उनले गोल पनि गर्न भ्याइसकेका थिए !
मैदानमा उनको त्यो जुझारुपन र खेलप्रतिको भोकले त्यतिबेला फुटबल प्रेमीहरूलाई मन्त्रमुग्ध बनाएको थियो । जुत्ता बिनाको खुट्टा नै उनी मैदानमा दौडिए र विपक्षी पोस्टमा शानदार गोल गर्न पनि सफल भए ।
इतिहासका यी र यस्तै सामान्य तर, प्रभावशाली घटनाहरूले नै आज फुटबललाई विश्वकै सबैभन्दा लोकप्रिय खेलका रूपमा उभ्याउन मद्दत गरेका छन् ।
डा सिल्भालाई फुटबलको सबैभन्दा दर्शनीय कला ‘बाइसाइकल किक’ को आविष्कारक पनि मानिन्छ । सन् १९३२ मा ब्राजिलियन क्लब ‘बोनसुसेसो’ का लागि खेल्दा उनले पहिलोपटक यो कला प्रदर्शन गरेका थिए ।
त्यसपछि सन् १९३८ को विश्वकपमा जब उनले हावामा उफ्रेर ‘बाइसाइकल किक’ प्रहार गरे, त्यतिबेला रेफ्रीहरू नै चकित परेका थिए । यस्तो अचम्मको प्रहार नियमभित्र पर्छ कि पर्दैन भनेर उनीहरू अलमलमा थिए ।
सन् १९३८ को फ्रान्स विश्वकप डा सिल्भाका लागि स्वर्णिम साबित भयो । उनले त्यो विश्वकपमा एक्लैले सात गोल गरेका थिए । उनी त्यो विश्वकपको सर्वाधिक गोलकर्ता पनि हुन् ।
उनकै उत्कृष्ट प्रदर्शनका कारण ब्राजिल बलियो स्वीडेनलाई ४–२ गोलले हराउँदै तेस्रो भएको थियो । ब्राजिलको राष्ट्रिय टोलीबाट खेलेका १९ खेलमा उनले २१ गोल गरेका थिए । प्रति खेल १.११ गोलको तथ्याङ्कले पनि उनको उत्कृष्टताको प्रमाण दिन्छ ।
डा सिल्भा केवल एक खेलाडीमात्र थिएनन्, उनी ब्राजिलका पहिलो ‘ग्लोबल सुपरस्टार’ समेत थिए । उनी यति लोकप्रिय थिए कि, ब्राजिलको चर्चित चकलेट ब्रान्ड ‘डाइमन्टे नेग्रो’ समेत उनकै नाममा राखिएको थियो ।
रंगभेदको समस्या व्याप्त रहेको त्यो समयमा, एक अश्वेत खेलाडीका रूपमा उनले समाजमा ठूलो प्रभाव पारेका थिए । खेल मैदानभित्र उनको चमक जति थियो, मैदान बाहिर पनि उनको लोकप्रियता उस्तै थियो ।
सन् १९५० मा सक्रिय खेलजीवनबाट सन्न्यास लिएपछि उनी रेडियो रिपोर्टर बने र पछि फर्निचर पसलसमेत सञ्चालन गरेका थिए ।
सन् २००४ को जनवरी २४ तारिखका दिन ९० वर्षको उमेरमा उनले यो संशारबाट बिदा लिए । तर, आज पनि फुटबल इतिहासका पनाहरूमा उनको नाम सुनौलो अक्षरले लेखिएका छन् । लियोनिडास डा सिल्भा, जसले खेललाई केवल प्रतिस्पर्धा मात्र होइन, एउटा ‘कला’ का रूपमा स्थापित गरे ।