०३ साउन २०८३, आइतबार

सामाजिक सञ्जालको ट्रोल सहन नसकेर दुई पटक आत्महत्या गर्न खोजेँ- सांसद सीता थपलिया

असार ३१, २०८३
काठमाडौं
सामाजिक सञ्जालको ट्रोल सहन नसकेर दुई पटक आत्महत्या गर्न खोजेँ- सांसद सीता थपलिया

नेपाली कांग्रेसकी सांसद सीता (उर्मिला) थपलियाले सामाजिक सञ्जालमा आफूविरुद्ध भएको ट्रोलका कारण मानसिक रूपमा गम्भीर असर परेको र त्यसकैबीच दुई पटक आत्महत्याको प्रयाससमेत गरेको खुलासा गरेकी छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद थपलियाले केही दिनअघि आफू र अर्की एक सांसद (कांग्रेस प्रमुख सचेतक बासना थापा)ले संसद्‌मा तीन जना युवाले २४ घण्टाभित्र आत्मदाह गरेको घटनाबारे सरकारको ध्यानाकर्षण गराएको स्मरण गराइन् । सरकारको ध्यानाकर्षण गराउन अपनाइएको शैलीलाई लिएर सामाजिक सञ्जालमा आफूहरूविरुद्ध व्यापक ट्रोल गरिएको उनको भनाइ छ ।

उनले सरकार संवेदनशील नबनेसम्म फरक शैलीबाट आवाज उठाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै त्यसबेला आफूहरूले दुई सांसद मात्र नभई सयौं सांसदले पनि एउटै विषय उठाउन सक्ने बताइन् । 

तर, त्यसपछि सामाजिक सञ्जालमा भएको ट्रोलले आफूलाई मानसिक रूपमा अत्यन्तै विचलित बनाएको सांसद थपलियाको भनाइ छ । 

‘त्यो ट्रोल सहन नसकेर म एकदमै विच्छिप्त भएकी थिएँ । यो अवधिमा मैले दुई पटक आत्महत्या गर्ने कोसिस गरेँ’, उनले भनिन् ।

सांसद थपलियाले सामाजिक सञ्जालको प्रयोग र त्यसमा फैलिने ट्रोल संस्कृतिबारे समाजले गम्भीर आत्ममूल्यांकन गर्नुपर्ने आवश्यकता औंल्याइन् । सामाजिक सञ्जाल कसरी प्रयोग भइरहेको छ र कसरी दुरुपयोग भइरहेको छ भन्ने विषयमा सबैले सोच्नुपर्ने उनको भनाइ थियो ।

आफ्नो भनाइको अन्त्यमा उनले महिलामाथि हुने सामाजिक परीक्षण र आलोचनाप्रति संकेत गर्दै भनिन्, ‘सत्ययुगकी सीतादेखि कलियुगकी सीतासम्म यो समाजमा कति पटक अग्निपरीक्षा दिनुपर्छ ? म त्यसका लागि तयार छु ।’

salt training

कमेन्ट गर्नुहोस्