
बिहानैदेखि केही मिडिया हाउसअगाडि शंकास्पद गाडी पार्किङ गरेको समाचार बाहिरिरहेका बेला नेपाली कांग्रेसका सभापति गगन थापाको घरअगाडि पनि अज्ञात व्यक्तिले गाडी पार्क गरेको तथ्य बाहिरिएको छ ।
सभापति थापाको रातोपुलस्थित निवास अगाडि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको छ ।
उक्त गाडी बाइकसमेत निस्कन नमिल्ने गरी बिहान ७ बजेदेखि राखिएको सूचना पाएसँगै अहिले प्रहरी उक्त स्थानमा पुगेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार थापाको घर अगाडि पनि गाडी राखेको सूचना पाएपछि प्रहरी परिचालित भएको छ ।
सोमबार बिहानैदेखि यसैगरी अनलाइनखबर, हिमालय टीभी र कान्तिपुर पब्लिकेसन्सका कार्यालयअगाडि गाडी राखिएको थियो ।
प्रहरीले मिडिया हाउसको गेटै थुन्ने गरी राखिएका गाडीलाई क्रेनमार्फत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुर्याइसकेको छ । ती गाडी धनीका नाम समेत प्रहरीले पत्ता लगाइसकेको छ ।