
फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि मियामी स्टेडियममा भइरहेको रोमाञ्चक भिडन्तको पहिलो हाफमा इंग्ल्याण्डले फ्रान्समाथि ४–० को सानदार अग्रता बनाएको छ।
खेलको सुरुवातदेखि नै आक्रामक देखिएको इंग्ल्याण्डले फ्रान्सको फितलो रक्षापंक्तिको फाइदा उठाउँदै गोलको वर्षा गरेको हो।
खेल सुरु भएको तेस्रो मिनेटमै कप्तान डिक्लान राइसले गोल गर्दै इंग्ल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको १८औँ मिनेटमा एज्री कोन्साले उत्कृष्ट हेडमार्फत दोस्रो गोल थपे। दबाबमा परेको फ्रान्सले खेलमा फर्कने प्रयास गरे पनि इंग्ल्याण्डका फरवार्डहरूको गति र तालमेलअघि उनीहरूको केही लागेन।
३७औँ मिनेटमा मार्कस रासफोर्डको पासमा बुकायो साकाले गोल गर्दै अग्रता ३–० मा पुर्याए। पहिलो हाफको इन्जुरी समयमा साकाले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई ४–० को बलियो स्थितिमा पुर्याएका हुन्।
इंग्ल्याण्डका प्रशिक्षक थोमस टुचेलले यस खेलमा टोलीमा सातवटा परिवर्तन गरेका थिए, जुन निर्णय पहिलो हाफमै सही सावित भएको देखिन्छ।
अर्कोतर्फ, किलियन एमबाप्पेजस्ता स्टार खेलाडी सम्मिलित फ्रान्सेली टोली रक्षात्मक रूपमा निकै कमजोर देखिएको छ। पूर्व खेलाडी ड्यानी मर्फीले फ्रान्सको रक्षापंक्ति 'पूर्ण रूपमा भताभुङ्ग' भएको टिप्पणी गरेका छन्।
४-० को सहज अग्रतासँगै इंग्ल्याण्डले विश्वकपमा आफ्नो दोस्रो उत्कृष्ट नतिजा हासिल गर्ने सम्भावना बलियो बनाएको छ।