०९ साउन २०८३, शनिबार

फिल्ममा अभिनय गर्न चाहन्छिन् ‘मिस पबि ?’

‘आफैँ लगानी गरेर भए पनि पल शाहसँग म्युजिक भिडियो खेल्छु भन्ने सोँच्थेँ’
फिल्ममा अभिनय गर्न चाहन्छिन् ‘मिस पबि ?’
‘जुम्ला’ गीतको भिडियोको एक दृश्यमा मिस पबि

डोटेली भाषामा बोलेर टिकटकबाट चर्चामा आएकी हुन् डडेल्धुराकी पवित्रा साँकी अर्थात ‘मिस पबि ।’

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेलधुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालको पक्षमा टिकटकबाटै भोट मागेपछि उनको चर्चा थप चुलियो । टिकटकमा ९ लाख बढी फलोअर्स कमाएकी २३ वर्षीया मिस पबि यतिबेला भने म्युजिक भिडियोमार्फतसमेत दर्शकसामु छाइरहेकी छन् । 

उनको अभिनय रहेको सुनिल गिरीको ‘जुम्ला’बोलको गीत गतसाता मात्रै सार्वजनिक भयो, जुन गीतले छोटो समयमै युट्युबमा २० लाखभन्दा बढी भ्युज पाइसकेको छ । 

आफू अभिनित गीतलाई स्रोता एवं दर्शकले रुचाएसँगै यतिबेला दंग छिन् मिस पबि । ‘सबैले एकदमै राम्रो प्रतिक्रिया दिनुभएको छ’, उनी भन्छिन् – ‘एकदमै खुशी छु ।’ 

उनले यसअघि पनि केही म्युजिक भिडियोमा अभिनय गरेकी थिइन् । यद्यपि, यति धेरै चर्चामा आएको पहिलो म्युजिक भिडियो भने ‘जुम्ला’ नै हो ।  गीतले चर्चा पाएसँगै उनलाई थुप्रै म्युजिक भिडियोहरूबाट मोडलिङका लागि ‘अफर’ आइरहेका छन् । 

‘जुम्ला’ पछि पनि मिस पबिले दुईवटा म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । 

‘अफरहरू राम्रै संख्यामा आइरहेका छन्’, उनले लोकान्तरसँग भनिन्, ‘यद्यपि, मन परेको राम्रो गीतमा मात्र काम गर्ने भनेर छनोट गर्ने गरेकी छु ।’ 

आफूमा अभिनयप्रतिको मोह सानैदेखि रहेको उनी बताउँछिन् । उनलाई सबैभन्दा बढी मनपर्ने अभिनेता एवं मोडल भने पल शाह हुन् । 

उनले सुनेकी थिइन् चलेको मोडलसँग काम गर्न आफैँ लगानी गर्नुपर्छ । ‘नयाँ कलाकारले पैसा हालेर भिडियो खेल्नुपर्छ भन्ने सुनेकी थिएँ’, उनी सुनाउँछिन्, ‘म पनि पैसा कमाएँ भने आफैँ लगानी गरेर पल शाहसँग भिडियो खेल्छु भन्ने सोँच्थेँ ।’ पल शाहसँग म्युजिक भिडियोमा अभिनय गर्ने उनको सपना अहिले पनि छ । 

मिस पबिलाई खासगरी ‘कल्चरल’ खालको भिडियोमा अभिनय गर्न बढी मनपर्छ । अहिले भिडियोमा काम गरिरहेकी उनको रुचि फिल्मतिर पनि छ ।

‘कथा, टिम सबैकुरा चित्त बुझ्यो भने फिल्ममा पनि अभिनय गर्ने सोच हो’, उनले भनिन्, ‘यद्यपि, अहिले तत्कालै होइन, त्यसका लागि धेरै कुराहरू सिक्न बाँकी नै छ ।’ 

म्युजिक भिडियोमा जस्तै फिल्म पनि उनी ‘कल्चरल’ खालको ‘स्टोरीवेश’ नै मनपर्ने बताउँछिन् । स्थानीय भाषामा टिकटक बनाएर दर्शकमाझ रुचाइएकी उनी अभिनयसँगै सामाजिक काममा पनि आफ्नो खास रुचि रहेको सुनाउँछिन् ।

salt training

कमेन्ट गर्नुहोस्