
केही दिनअघि अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह लगायतको टिम ‘इन्द्रेणी’ कार्यक्रमको स्टुडियोमा देखियो ।
यही पुसको २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘तिम्रो मेरो साथ’को प्रमोसनका लागि उनीहरु कृष्ण कंडेलले संचालन गर्ने लोकप्रिय सांगीतिक कार्यक्रममा पुगेका थिए ।
उक्त भाग गत साता नै युट्युबमा सार्वजनिक समेत भइसकेको छ ।
‘इन्द्रेणी’को स्टुडियोमा यसैसाता अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीसमेत पुगेका छन् ।
यी दुई अभिनित फिल्म ‘डिसेम्बर फल्स’ गत शुक्रबारदेखि हलमा प्रदर्शनरत छ ।
सोही फिल्मको प्रमोसनका लागि ‘इन्द्रेणी’कार्यक्रममा पुगेका उनीहरूले फिल्मबारे मात्रै कुराकानी गरेका छैनन्, कार्यक्रम संचालक कृष्ण कंडेलसँगै दोहोरीसमेत गाएर रमाइलो गरेका छन् ।
लोकदोहोरी क्षेत्रको चर्चित कार्यक्रम ‘इन्द्रेणी’ पछिल्लो समय फिल्म निर्माता, निर्देशक एवं कलाकारहरूको समेत प्रमोसनको थलो बन्न थालेको हो ।
उक्त कार्यक्रम धेरै दर्शकको प्रिय भएकाले पनि फिल्म प्रमोसनको राम्रो प्लेटफर्म हुने निर्देशकहरूको बुझाई छ ।
केही समय यता ‘कमेडी क्लब विथ च्याम्पियन्स’ भने फिल्म प्रमोसनको लागि अनिवार्य गन्तव्यजस्तै बनिसकेको छ ।