
लुम्बिनी प्रदेशले आम निर्वाचन सकिएको ५१ औं दिनमा आज नयाँ सरकार पाउने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सत्तारूढ गठबन्धनले मंगलबार नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्रीको लागि दावी पेश गर्दैछ । एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य भूमिश्वर ढकालले अपरान्ह ४ बजे मुख्यमन्त्रीको लागि दावी पेश गरिने लोकान्तरलाई जानकारी दिए ।
‘सत्तारुढ गठबन्धन दलका नेताहरूको बैठक बस्यो’ ढकालले भने, ‘बैठकमा नागरिक उन्मुक्ति पार्टीका साथीहरू आउनुभएन । तर उहाँहरु हाम्रो सम्पर्कमै हुनुहुन्छ । हामीले बढीमा ५५ सांसदसहित दावी पेश गर्ने तयारीमा छौं ।’
८७ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४४ सांसद आवश्यक पर्छ । शीर्ष नेताहरूको भागबण्डाअनुसार लुम्बिनीमा मुख्यमन्त्री एमाले, सभामुख माओवादी केन्द्र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाउने सहमति छ ।
निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र सरकार गठन गरिसक्नुपर्ने संवैधानिक प्रावधान अनुसार गत बुधबार प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा दाबी पेस गर्न ७ दिनको समय सीमा उपलब्ध गराएका थिए । समय २७ गते बुधबार ४ बजेसम्मको समयसीमा शेरचनले दिएका छन् ।
प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत नरहेकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नुपर्नेछ ।
केन्द्रको समीकरण अनुसार लुम्बिनीमा एमाले २९, माओवादी १० र राप्रपा ४, जनमत पार्टी ३, जसपा ३ नागरिक उन्मुक्ति ४ सांसद छन् । कांग्रेसका २७, लोसपा ३, नेकपा एकीकृत समाजवादी १, राष्ट्रिय जनमोर्चा १ स्वतन्त्र २ सांसद रहेका छन् । प्रदेशसभामा दश राजनीतिक दलको प्रतिनिधित्व छ ।