
तत्कालीन नेकपा माओवादीद्वारा सञ्चालित १० वर्षे जनयुद्धमा राजनीतिक र सैन्य मोर्चाको नेतृत्व सम्हालेका रुकुमपश्चिमका राजकुमार शर्मा कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका छन् ।
नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादीको समर्थनमा उनलाई प्रदेश प्रमुख तिलक परियारले बुधवार संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शर्माले माओवादीका १३, एमालेका १०, राप्रपा र नेकपा एकीकृत समाजवादीका १/१ गरी २५ सांसदको समर्थनसहित मुख्यमन्त्री नियुक्तिमा दाबी पेश गरेका थिए । मुख्यमन्त्रीमा दाबी पेश गर्न उनी सत्ता साझेदार दलका नेता र सांसदहरूसहित प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।
मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा उनी रुकुमपश्चिम प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित भएका थिए । चौरजहारी नगरपालिका–१४ नुवाकोटका स्थायी वासिन्दा शर्मा २०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्ला समन्वय समितिका संयोजक निर्वाचित भएका थिए ।
पार्टी संघीय संरचनामा गएपछि उनले कर्णाली प्रदेश कमिटीको पहिलो अध्यक्ष समेत भएर काम गरेका थिए । हाल माओवादी केन्द्रको पोलिटब्युरो सदस्य रहेका शर्मा पार्टीभित्र ‘आर्ट’ नामले चिनिन्छन् । २०२८ भदौ १८ गते तत्कालीन रुकुम जिल्लाको नुवाकोट गाविसमा जन्मिएका उनी स्कूले पढाइ छाडेर १४ वर्षको कलिलो उमेरमै मशालको राजनीतिमा जोडिएका थिए ।
उनले २०४१ सालमा मशालको विद्यार्थी संगठन अनेरास्ववियूमार्फत राजनीतिक यात्रा तय गरेका थिए । त्यतिबेला उनकै घरमा अनेरास्ववियूको क्षेत्रीय सम्मेलन भएको थियो ।
२०४६ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ महामन्त्री रहेको नेकपा मसालको सांगठनिक सदस्यता प्राप्त गरी उनी २०४७ सालदेखि पूणर्कालीन कार्यकर्ताको रूपमा राजनीतिमा होमिएका थिए । २०५१ सालमा तत्कालीन नेकपा एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकबाट पार्टीको नाम परिवर्तन भई नेकपा माओवादी बन्यो । जनयुद्धका लागि फौजी आधार तयार गर्न २०५० सालमा रुकुम महतगाउँको फूलबारी जंगलमा ४५ दिने सशस्त्र तालिम आयोजना गरिएको थियो । त्यसमा पनि उनी सहभागी थिए ।
२०५२ फागुन १ गते प्रचण्ड नेतृत्वमा जनयुद्ध शुरू भएपछि शर्माको भूमिगत राजनीति शुरू भएको थियो । जनयुद्ध घोषणाकै दिन रुकुमको राडी प्रहरी चौकी आक्रमण गर्न उनी अग्रपंक्तिमा खटिएका थिए ।
२०५३ पुसमा डोल्पाको त्रिवेणी चौकी आक्रमणमा शर्मा पनि सहभागी थिए । आक्रमणमा मुख्य कमाण्डर दौलतराम घर्ती (विजय घले) मारिएका थिए । जनयुद्ध विस्तारका सिलसिलामा २०५४ सालदेखि जुम्ला, कालीकोट, मुगु, डोल्पा, हुम्ला, दैलेखमा जिल्ला सेक्रेटरी र इन्चार्जका रूपमा उनले जनयुद्धको विस्तार तथा आधार इलाका निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
दैलेखमा २०६१ सालमा माओवादीविरुद्ध प्रतिकार अभियान चलेका बेला उनी त्यहाँ खटिए । शान्ति प्रक्रियापछि थारुवान राज्य समितिको (दाङ–कञ्चनपुर) को प्रमुख, २०६७ सालपछि नेवा राज्य समितिमा काम गरे उनले । माओवादीको केन्द्रीय प्रचार विभागमा पनि शर्माले काम गरेको अनुभव छ ।