
माघे संक्रान्ति नजिकै आइसक्यो । मध्यपुरथिमि नगरपालिका–४ दुई पोखरी इनाय टोलका व्यापारीलाई भने यतिखेर चाकु बनाउन भ्याइँनभ्याइँ छ ।
मध्यपुरथिमिमा ५८ वर्षअघि बुवा गणेशप्रसाद श्रेष्ठले शुरू गरेको चाकु बनाउने पेशा नाती पुस्तासम्म पनि प्रख्यात छ । माघे संक्रान्ति नजिकिएसँगै उत्तमराज श्रेष्ठको परिवार १ महिना अघिदेखि चाकु बनाउन व्यस्त छ ।
थिमिमा चाकु उत्पादन गर्ने पुरानो एकमात्र गणेश चाकु वासको नामबाट प्रख्यात श्रेष्ठले माघे संक्रान्तिका लागि मात्रै नभई वर्ष दिनभरि नै चाकु बनाउँछन् । यहाँको चाकु र पुष्टकारी स्वदेशमा मात्रै नभई विदेशमा पनि प्रख्यात रहेको बताउँछन् व्यवसायी श्रेष्ठ । माघे संक्रान्तिले भीड बढेको र जाडो बढेकाले चाकुको माग धान्न धौंधौं परेको उनको भनाइ छ । १ महिनादेखि उनको परिवारसहित दैनिक २५ जना चाकु र तीलको कालो तथा सेता लड्डु (तिलौरी) बनाउन व्यस्त छन् ।
उनी भन्छन्, ‘माघे संक्रान्ति नजिकिएपछि चाकु लिन आउनेको भीड लाग्छ, यहाँ उत्पादन भएको चाकु र पुष्टकारी औषधिको रुपमा प्रयोग गर्न टाढाटाढाबाट लिन आउँछन्, यहाँको चाकुले खोकी निको पार्छ, गर्भवती, सुत्केरीका लागि टाढाटाढाबाट यहीँ चाकु लिन आउँछन्, महिलामा रगत बग्ने समस्या भयो भने चाकु लिन यहीँ आउँछन् ।’
सुत्केरीले यहाँको चाकु खाँदा चिसो नलाग्ने, बच्चाका लागि पर्याप्त दूध आउने, सुत्केरीलाई समेत सहज हुने भएकाले जाडोमा मात्र नभई गर्मीमा चाकु लिन यहाँ आउने गरेको उनी बताउँछन् । यहाँका सुदीप श्रेष्ठ जाडोमा र वैशाख–जेठमा दैनिक ७ देखि १०, असोज कात्तिकमा १५ देखि २० किलो चाकु र पुष्टकारी बिक्री हुने गरेको सुनाउँछन् । जाडो बढेपछि दैनिक ५० किलोसम्म चाकु र पुष्टकारी बिक्री गर्ने गरेको र माघे संक्रान्तिलाई उपत्यका र बाहिरबाट माग अत्यधिक आउने भएकाले दैनिक २०० किलोसम्म बिक्री हुने गरेको उनी बताउँछन् ।