२६ असार २०८३, शुक्रबार

अस्पतालमा औषधि नपाउँदा बिरामी समस्यामा

अस्पतालमा औषधि नपाउँदा बिरामी समस्यामा

जिल्लाका स्वास्थ्य संस्थामा सेवा लिन आउने बिरामीहरूले औषधि नपाएको गुनासो गरेका छन् । चिकित्सकले जाँच गरेर पुर्जामा औषधिको नाम लेखी ‘फार्मेसीमा जान सल्लाह दिने गरे पनि बिरामीले औषधि नपाउँदा हैरान भएर फर्कनेगरेको छन् ।

विगत महिना दिनदेखि बिरामीले फार्मेसीबाट औषधि नपाएको गुनासो गर्दैआएका छन् । फार्मेसीमा औषधिका लागि पुर्जा लिएर बिरामीका आफन्तहरू आउँछन्, तर यहाँ औषधि नपाएपछि गाली मात्र खानुपरेको फार्मेसीमा काम गर्ने स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य बीमा गरेका बिरामी घरबाट पैसा बोकेर नआउने भएकाले फार्मेसीमा औषधि नपाउँदा झगडा गर्न बसेझैँ हुनेगरेको स्वास्थ्यकर्मीले बताउँछन्  ।

चिकित्सकले लेखिदिएको औषधि नपाएर निजी मेडिकलमा किन्न बाध्य भएको भेरी नगरपालिका–१ की तली कामीले बताए । सामान्य ग्यास्ट्रिकको औषधिसमेत नपाएको उनले गुनासो गरे । त्यस्तै भेरी नगरपालिका–३ का चन्द्रबहादुर बुढाले पनि फार्मेसीबाट औषधि नपाएको बताए । “नाममात्रको फार्मेसी भएपछि के गर्नु, औषधि बाहिरबाट किनेर ल्याउनुपर्ने बाध्यता छ” उनले भने । 

सदरमुकामभन्दा बाहिरका पालिकाबाट सेवा लिन आएका बिरामीलाई समस्या पर्ने गरेको छ । फार्मेसीमा औषधि सकिएको जानकारी सम्बन्धीत निकायलाई गराए पनि औषधि जिल्लामा नआएको जनाइएको छ ।

विधुत सेवा अवरुद्ध

जिल्ला अस्पतालमा पाँच दिनदेखि विधुत सेवा अवरुद्ध हुँदा समस्या हुँदैआएको छ । ओपीडी, शल्यक्रिया, एक्सरे सेवादेखि ल्याबसम्मका सबै सेवा विधुत नहुँदा ठप्प भएका छन् । जेनेरेटर सञ्चालन गरेर सबै उपकरण सञ्चालन गर्दा महँगो पर्ने भएकाले दैनिक अस्पतालमा काम गर्न मुस्किल भएको हो ।

विधुत प्राधिकरणले ट्रान्सर्फमर जडान गरे पनि वाइरिङ नगर्दा समस्या उत्पन्न भएको नेपाल विधुत प्राधिकरणका प्रमुख अविशेकराज कलुवारले बताए ।  स्वास्थ्य सेवा कार्यालयले प्राधिकरणलाई रु दुई लाख तिर्न समेत बाँकी छ । रु १७ लाख रकम खर्चेर अस्पतालमा काम गरे पनि स्वास्थ्यले आफैँले केही पनि काम नगर्दा विधुतमा समस्या हुँदैआएको छ । विधुतका सामग्री आउँदैगरेको  स्वास्थ्यका कार्यालय प्रमुख नवराज कँडेलले बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्