
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य सेवाको पहुँच बिस्तार गर्न सम्बन्धित निकायहरु एकतावद्ध भएर काम गर्नुपर्ने बताएका छन् । बिहीबार बीर अस्पतालमा क्याथ ल्याबको उदघाटन गर्दै उनले त्यस्तो बताए । मन्त्री गिरीले देशमा अहिले पनि स्वास्थ्य सेवा सीमान्तकृत र गरिब जनतासम्म पुग्न नसकेको बताए ।
स्वास्थ्य सेवाको पहुँच सबै क्षेत्रमा बिस्तार गर्न आवश्यक रहेको बताउँदै उनले आफ्नो कार्यकालमा त्यसका लागि काम गर्ने प्रतिवद्धता जनाए । उपचार नपाएर मर्नुपर्ने बाध्यतालाई हटाउन सक्नुपर्ने उनको भनाइ छ । स्वास्थ्य सेवाको पहुँच बिस्तार गरी गुणस्तरीय सेवा प्रवाहका लागि मन्त्रालयले आवश्यक नीतिगत सुधार गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।
सरकारी अस्पतालमा ल्याबमा हुने उपकरणहरु चाँडै बिग्रिने र बाहिर उपचार गर्न जानुपर्ने बाध्यता रहेको भन्दै यस्ता समस्या हटाएर गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिन उनले निर्देशन दिए । मन्त्री गिरीले जनशक्तिको अभावलाई आवश्यक बजेट विनियोजित गरेर मन्त्रालय गुणस्तरीय स्वास्थ्य सेवा बिस्तारमा लाग्ने चर्चा गरे ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले स्वास्थ्य क्षेत्रमा रहेको जनशक्तिको अभावलाई चाँडै परिपूर्ति गर्ने बताइन् । उपकरण, सीटी स्क्यान, एमआरआइको कमीलाई अब चाँडै पूर्ति गर्ने उनले प्रतिवद्धता जनाइन् ।
मन्त्री कार्कीले लोकसेवाको परीक्षा चाँडो गराएर आवश्यक स्थायी दरबन्दी बढाउने कुरामा सरकार लाग्ने बताइन् । बीर अस्पतालमा सन् १९८५ मा क्याथ ल्याब सेवा शुरु भएको थियो । तर २००० सालबाट बिस्तारै सेवा अवरुद्ध भयो । त्यसपछि सन् २०२३ बाट पुनः सेवा शुरु हुन लागेको हो । सन् १९८५ मा तत्कालिन राजा बीरेन्द्रले नेपालमा पहिलो पटक बीर अस्पतालबाट नै क्याथ ल्याब सेवाको उदघाटन गरेका थिए ।