
पछिल्लो केही समययता म्युजिक भिडियो निर्माणमा कमी आएको छ।
यकिन तथ्यांक कसैसँग नभए पनि पछिल्लो केही समययता म्युजिक भिडियो छायांकन ठूलो मात्रामा घटेको निर्माता तथा निर्देशकहरूले नै बताउने गरेका छन्।
कोभिड-१९ ताकाभन्दा पनि यतिबेला कम संख्यामा म्युजिक भिडियो बन्ने र सार्वजनिक हुने गरेका उनीहरूले बताएका छन्।
युट्युबमै पनि नेपाली म्युजिक भिडियो पहिलेझैं अपलोड नहुनुले निर्माण घटेको सहजै अनुमान लगाउन सकिन्छ ।
निर्देशक शिव विक म्युजिक भिडियो निर्माणमा करिब ८० प्रतिशतभन्दा बढीले कमी आएको बताउँछन् ।
‘अहिले फाट्टफुट्ट रुपमा मात्रै काम भइरहेको छ’, उनले भने, ‘मैले एउटा भिडियोको काम गर्दा एक हप्तापछि अर्कोले गर्छ । अहिले म्युजिक भिडियो क्षेत्रका धेरै जना फुर्सदमै छन् ।’
आफूले अहिले निकै कम काम गरिरहेको उनको भनाइ छ ।
छायाँकार अर्जुन तिवारी पनि यतिबेला म्युजिक भिडियो निर्माणमा अचम्म तरिकाले कमी आएको बताउँछन् । ‘अहिले अचम्म तरिकाले भिडियो निर्माणको क्रम घटेको छ । मलाई आउने काममा त ९५ प्रतिशतले नै कमी आएको छ’ उनले भने ।
निर्देशक काजिश श्रेष्ठ भने ६० प्रतिशतसम्मले कमी आएको अनुमान पर्छन् ।
के हुनसक्छ कारण ?
म्युजिक भिडियो निर्माण घट्नुका कारण अनेक छन् । कोही भने पुस-माघको समयलाई म्युजिक भिडियो निर्माणका लागि अफसिजन मान्छन् ।
यद्यपि विगतका वर्ष यतिबेला राम्रै संख्यामा भिडियोहरू आएका थिए ।
‘अफसिजनका कारण मात्रै घटेको होइन, गतवर्ष यतिबेला राम्रै संख्यामा भिडियो निर्माण भएका थिए’, छायाँकार अर्जुन भिडियो निर्माण घट्नुको कारण पेस गर्छन्, ‘अहिले भिडियोको भ्युजको अनुपातमा कमी आएको छ । युट्युबमा तुलनात्मक रुपमा भ्युज कम गइरहेकाले मानिसहरू लगानी गर्न हिच्किच्याइरहेका छन् ।’
पछिल्लो समय मानिसहरू युट्युबमा भन्दा टिकटकमा बढी भुल्न थालेका छन् । सोहीकारण युट्युबमा भिडियोहरूको भ्युज अनुपातमा घटेको मान्न सकिन्छ। प्रायः टिकटकमा चलेका गीतहरूले मात्रै युट्युबमा राम्रो भ्युज पाउने गरेको देखिएको छ।
म्युजिक भिडियोको आम्दानीको मुख्य स्रोत भने युट्युबबाट आउने आम्दानी हो । भ्युज नजाँदा युट्युबबाट लगानी उठ्ने सम्भावना एकदमै न्यून हुन्छ।
भिडियोहरू लगातार घाटामा जानुका कारण लगानीकर्ता पछि हटेका धेरैको बुझाइ छ ।
निर्देशक शिव विकलाई लाग्छ- अहिले सांगीतिक क्षेत्र पनि आर्थिक संकटले सुस्ताएको छ । भन्छन्, ‘पहिलो कारण त अहिले लगानीकर्तासँग पैसा नभएको जस्तो लाग्छ । लगानी निरन्तर डुब्नुले पटक–पटक लगानी गर्न उनीहरू डराएका हुन कि ?’
यतिबेला देशभर मेला महोत्सवको लहर पनि चलिरहेको छ । कलाकारहरू मेला महोत्सवतिर व्यस्त हुँदा पनि भिडियो निर्माणमा केही कमी आएको हुनसक्ने निर्देशक श्रेष्ठ बताउँछन् ।
कलाकारहरू लाइभ दोहोरीतिर लाग्दा पनि भिडियो निर्माणमा कमी आएको कतिपयको तर्क छ।
लाइभ दोहोरीका कारण म्युजिक भिडियोको औसत भ्युजमा कमी आएको र त्यसको ‘साइड इफेक्ट’ म्युजिक भिडियो निर्माणमा परिरहेको कतिपयको भनाइ छ।
निर्देशक श्रेष्ठ थप्छन्, ‘ठ्याक्कै यो वा त्यो भन्ने एउटा मात्रै कारण त छन् । धेरै कारणहरूले भूमिका खेलेका छन् ।’
'रहरले लगानी गर्नेहरू पनि घटे'
म्युजिक भिडियोमा रहरले लगानी गर्नेहरू पनि धेरै हुने गर्दथे । यद्यपि, पछिल्लो समय रहरले लगानी गर्नेहरूको संख्यामा पनि ह्वात्तै कमी आएको निर्देशकहरू बताउने गर्छन्। ‘पछिल्लो समय रहरले आएकाहरू रहरै रहरले पलायनजस्तै देखिएका छन् । व्यावसायिकभन्दा अरूले लगानी गर्न नै सकिरहेका छैनन्,’ श्रेष्ठ भन्छन्।

‘यो कलाकारलाई खेलाउँदा सुरक्षित हुन्छौं भन्ने भएन्’
यतिबेला चलेका कलाकारहरूलाई लिएर भिडियो बनाउँदा पनि ढुक्क हुने अवस्था लगानीकर्तामा नरहेका निर्देशकहरूको भनाइ छ ।
‘चलेको कलाकारलाई लिँदा भिडियो हिट हुन्छ, सेफ साइडमा हुन्छौं भन्ने अवस्था अहिले रहेन । यद्यपि, पहिले पल शाहमा भने हामीले त्यो कुरा पाउँथ्यौं’, निर्देशक श्रेष्ठ भन्छन्, ‘उहाँलाई अभिनय गराउँदा कम्तीमा पनि १० लाख भ्युज जान्थ्यो ।’
पल शाहलाई भिडियोमा अभिनय गराउँदा चल्छ भन्ने बुझाइ पहिले रहेको उनले स्मरण गरे । तर, अहिले यो कलाकार राख्दा भिडियो चल्छ भन्ने अवस्था नै नरहेको उनी गुनासो गर्छन् ।
‘तपाईं नै भन्नुस्, अहिले कुन मोडललाई लगानी गर्दा भिडियोले मिलियन भ्युज पाउँछ ?’ प्रश्न गर्दै श्रेष्ठ आफैँ जवाफ दिन्छन्, ‘त्यो खालको मोडल अहिले कोही पनि छैन । सेफ साइड नहुँदा लगानीकर्ताहरू डराएका छन् ।’
लगानी गर्न लगानीकर्ता तयार रहेको तर ‘सेफ साइड’मा हुने महसुस गर्न नसक्दा डराइरहेको उनको धारणा छ ।