‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ निर्देशित चलचित्र ‘फूलबारी’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र पारिवारिक सम्बन्धको कथामा निर्माण भएको मंगलवार सार्वजनिक ट्रेलरबाट बुझ्न सकिन्छ ।
फागुनको ५ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रमा विपिन कार्की, दयाहाङ राई, अरुणा कार्की, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ लगायतको शीर्ष भूमिका छ । सार्वजनिक ट्रेलरमा चलचित्रका प्रायः कलाकारहरूलाई स्थान दिइएको छ ।
चलचित्रमा विपिन र अरुणाले दम्पतीको भूमिका निर्वाह गरेका छन् । विपिनले यस चलचित्रमा पाको उमेरको पात्रको भूमिका निर्वाह गरेका छन् ।
उपेन्द्र सुब्बाको लेखन रहेको चलचित्रमा कमलकिशोर मलपानीको अवधारणा तथा कथा रहेको छ ।
यशोदा फिल्मसको ब्यानरमा निर्माण भएको यो पहिलो चलचित्रलाई जोस हेरुमको छायांकन गरेका हुन् । चलचित्रलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन् । मनिष ढकाल यस चलचित्रका निर्माता हुन् ।