
बलिउड अभिनेता शाहरुख खान स्टारर चलचित्र ‘पठान’ रिलिजको खुशीयालीमा नेपाली अभिनेत्री पूजा शर्माले केक काटेकी छिन् ।
बुधवारबाट रिलिज भएको चलचित्र हेर्न हलमा पुगेकी उनले शाहरुखका फ्यानहरुसँगै केक काटेकी हुन् । शाहरुखको ठूलो फ्यान रहेकी उनी ‘फस्ट डे फस्ट शो’ हल पुगेर चलचित्र हेरेकी छिन् ।
शाहरुख फ्यान क्लब ‘टीम एसआरके नेपाल’ले राजधानीमा आयोजना गरेको शोमा अन्य फ्यानहरुसँगै अभिनेत्री शर्माले केक काटेर खुशीयाली साटेकी हुन् ।
उनले शाहरुखका नेपाली फ्यानहरुसँग मिलेर केक काटेको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।
अभिनेत्री शर्माले ‘पठान’ उत्कृष्ट एक्सन चलचित्र लागेको बताएकी छिन् ।
शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका रहेको चलचित्रले नेपालमा पनि बम्पर ओपनिङ गरेको छ । आदित्य चोपडाको निर्माण, सिद्धार्थ आनन्द निर्देशित चलचित्र एक्सन थ्रिलर जनरामा निर्माण भएको हो ।
शाहरुखको झन्डै चार वर्षपछिको कमब्याक यो चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।