
इलामको सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । पालिकाभित्र सञ्चालित बाल कक्षादेखि कक्षा १२ सम्म सामुदायिक विद्यालयमा ६१ दशमलव ७४ प्रतिशत र संस्थागत विद्यालयमा ३८ दशमलव ३६ प्रतिशत विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाका प्रवक्ता ख्यामबहादुर भुजेलले जानकारी दिए ।
उनले भने, “विसं २०७८ को तुलनामा गर्दा सामुदायिक विद्यालयमा ११ दशमलव २५ प्रतिशत विद्यार्थी वृद्धि भएको देखिन्छ ।” पालिकामा सामुदायिक विद्यालय, गुरुकूल र गुम्बासमेत गरी ६६ वटा, संस्थागत ३१ वटा र गुठीबाट सञ्चालित एउटा गरी जम्मा ९८ वटा विद्यालय सञ्चालनमा छन् । साथै सामुदायिक सिकाइ केन्द्र तीन वटा र स्नातक तहसम्म अध्यापन हुने एउटा क्याम्पस पनि सञ्चालनमा छन् ।
क्याम्पसमा हाल करिब तीन सय विद्यार्थी अध्ययनरत रहेको प्रवक्ता भुजेलको भनाइ छ । उनका अनुसार नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी तीन सय ९८, माध्यमिक तथा आधारभूत तहका अनुदान कोटाको शिक्षक सङ्ख्या १४, बाल शिक्षक ६२ तथा विद्यालय सहयोगी र सहायक कर्मचारी ७८ गरी जम्मा पाँच ५२ जनाको दरबन्दी छ ।
नगरपालिका क्षेत्रभित्रका विद्यालय र समग्र शैक्षिक स्थिति सुधारका लागि पालिकाले आधारभूत तथा माध्यमिक शिक्षा ऐन, २०७६ तथा नियमावली २०७६ लागू गरी समयसापेक्षरुपमा संशोधन गर्दै आएको नगरप्रमुख रणबहादुर राईले बताए ।