
भावी राष्ट्रपतिका लागि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले दाबी गरिरहे पनि निर्णायक मत भने उनीहरूबाहेकका दलसँग छ ।
यी दुईमध्ये कतै एकातिर तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) मात्र जोडिँदा पनि राष्ट्रपति निर्वाचित हुनका लागि पर्याप्त मत पुग्दैन । त्यस्तो अवस्थामा साना दलहरूको मत समेत निकै महत्त्वपूर्ण हुने अवस्थामा छ ।
राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते गर्ने गरी निर्णय भएको छ । त्यसका लागि उम्मेदवारी मनोनयन फागुन १३ गतेका लागि तोकिएको छ ।
राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतभारबाट हुने निर्वाचनमा माओवादी कांग्रेस र एमालेको तानातानमा देखिन्छ । ५२ हजार ६२८ को कूल मतभारमा राष्ट्रपतिमा विजयी हुन बहुमत अर्थात् २६ हजार ३१५ मत कटाउनुपर्ने हुन्छ ।
राष्ट्रपति चुनावमा प्रमुख दाबेदार कांग्रेसको १६ हजार २२१ मत छ । अर्को दाबेदार एमालेको मत १५ हजार ३६० मत छ । यी दुवै दलबीचको प्रतिस्पर्धामा माओवादीको ७ हजार ८२४ मत निर्णायक अवस्थामा छ । माओवादीको भोट आकर्षित गर्न सक्ने दलले नै अन्य साना दलबाट आवश्यक मत पाउन सक्ने देखिन्छ ।
२ हजार ४५० मत भएको राप्रपा र १ हजार ५०१ (रविको सांसद पद खारेजीपछि) मत भएको रास्वपा एमाले निकट देखिएका छन् । यी दलको मत १९ हजार ३११ छ ।
कता जाला खुल्न बाँकी साना दलको मत ?
अहिलेको सत्ता गठबन्धनअनुसार एमाले, माओवादी, राप्रपा र रास्वपा मिले २७ हजार २१४ मत कटाउनेछन् । तर एमालेलाई राष्ट्रपति दिन माओवादीले आनाकानी गरिरहेको छ । एमाले भने सत्ता गठबन्धन बन्दाको सहमतिअनुसार राष्ट्रपति आफूहरूले पाउनुपर्ने अडानमा छ ।
राष्ट्रपति, सभामुख, महत्त्वपूर्ण मन्त्रालयसहितका शक्तिशाली पदमा एमाले पुग्दा जोखिम हुने बुझाइ माओवादीको छ । यसैले उसको प्राथमिकता सकेसम्म राष्ट्रिय सहमति होस् भन्नेमा छ । तर एक महिनाअघि मात्रै बनेको सत्ता समीकरणको सहमतिबाट पछाडि फर्किँदाको नैतिक संकटको डर पनि उसलाई उत्तिकै छ ।
यस्तोमा माओवादीबाहेकका दल पनि निर्णायक मत लिएर बसेका छन् । २ हजार ४९४ मत भएको नेकपा एस, २ हजार १४५ मत भएको जसपा, १ हजार २४२ मत भएको जनमत, १ हजार ०१९ मत भएको लोसपा र ८९२ मत भएको नागरिक उन्मुक्ति पार्टीको मत राष्ट्रपतिका लागि निकै महत्त्वपूर्ण रहेको देखिन्छ ।
यी दलको कुल मत ७ हजार ७९२ छ । जुन माओवादीको भन्दा ३२ मतले कम हो । यी दलले मत नदिए कांग्रेस र माओवादी मात्रै मिल्दा पनि राष्ट्रपति जित्ने अवस्था हुँदैन ।
एमाले, राप्रपा र रास्वपाको १९ हजार ३९० मतमा यी नेकपा एस, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीको मत जोड्दा २७ हजार १८२ मत पुग्ने देखिन्छ ।
साना दललाई मनाउन सके एमालेले कांग्रेस र माओवादी विना नै राष्ट्रपतिको चुनाव जित्न सक्ने देखिन्छ । तर, एमालेले राप्रपा र रास्वपालाई बढी च्याप्दा अन्य दलसँग सम्बन्ध बिगारिरहेको छ ।
अर्कातर्फ आफैंबाट विभाजित नेकपा एससँग उसको सम्बन्ध झन् तिक्ततापूर्ण छ । सोही कारण यो समीकरण अंक गणितमा मात्र सम्भव देखिन्छ ।
के भन्छन् साना दलका नेता ?
२ हजार ४९४ मत भएको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा राष्ट्रपति चुनावमा उम्मेदवार अघि सरेपछि मात्रै कसरी अगाडि बढ्ने भन्ने टुंगो लाग्ने बताउँछन् ।
‘राष्ट्रपति निर्वाचनको मिति तोकिएपछि अब चुनावी माहोल तात्ला । को–को उम्मेदवार हुन्छन् हेर्न बाँकी छ,’ खतिवडाले लोकान्तरसँग भने, ‘हामी अहिलेसम्म सत्ता गठबन्धनको विपक्षमा छौं । अर्थात हामी प्रतिपक्ष नै हौं । तर पनि उम्मेदवार चयन भएपछि एउटा टुंगोमा पुग्छौं ।’
त्यस्तै, जसपाका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र एमालेबाहिरबाट पनि राष्ट्रपति चुनावमा उम्मेदवार हुन सक्ने भन्दै आफूहरू निर्णायक रहेको जनाउ दिए ।
‘समयमा राष्ट्रपतिको चुनाव हुनुपर्छ, तर यो देशमा राष्ट्रपतिका लागि एमाले र कांग्रेस मात्रै छैनन्, अरू जनता पनि छन् । यसमा सबैले ध्यान दिनुपर्छ,’ यादवले भने ।
प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएको उपेन्द्रको पार्टी सरकारमा सहभागी भएको छैन । तर मधेश प्रदेशमा जसपाबाटै मुख्यमन्त्री निर्वाचित भएका छन् ।
राष्ट्रपति निर्वाचनमा आफ्नो २ हजार १४५ मतलाई उपेन्द्रले बार्गेनिङ टुल बनाएका छन् । कि त महन्थ ठाकुरलाई राष्ट्रपति बनाउने कि त आफ्ना कुनै सांसदलाई उपराष्ट्रपति बनाएर उपचुनावमार्फत संसदमा आउने उपेन्द्रको दाउ छ ।
यता लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले राष्ट्रपतिको निर्वाचनमा आफूहरू शक्ति सन्तुलन मिलाउनुपर्ने मान्यतामा रहेको बताए ।
‘हाम्रो माग संविधान संशोधन र नागरिकता, थरुहट र मधेशी राजबन्दी रिहाइसहितका छन् । यी माग सम्बोधन गर्ने भनेर सरकारलाई समर्थन गरेका हौं । तर पनि कांग्रेसले विश्वासको मत दिएपछि सहमतिको वातावरण अगाडि बढाउनुपर्छ । शक्ति सन्तुलनको सिद्धान्तअनुसार शक्ति विकेन्द्रित गरेर राज्यका संयन्त्रमा ‘चेक एन्ड ब्यालेन्स’ गर्दा लोकतन्त्र बलियो हुन्छ र सबैको सम्मान हुन्छ भन्ने हाम्रो मत हो,’ उनी भन्छन्, ‘यसैले सबैलाई समेटेर जानका लागि राष्ट्रपतिको चुनाव सहमतिमा हुनुपर्छ । माओवादीले प्रधानमन्त्री र एमालेले सभामुख लिएपछि राष्ट्रपति एमाले र माओवादी बाहिरबाट चयन भए शक्ति सन्तुलन हुन्छ ।’
समावेशी पनि हुने भएकाले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा अगाडि सार्नु उपयुक्त हुने जिकिर उनले गरे ।
‘अहिले देशको राजनीतिक, सामाजिक चुनौतीलाई मध्यनजर राख्दा सहमतिमा अघि बढ्नुपर्ने अवस्था छ । यस्तोमा समावेशी पनि रहोस्, शालीन, भद्र र सबैले सम्मान गर्ने व्यक्ति पनि होस् भन्ने धेरैको चाहना छ । संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध भएको व्यक्तित्वको खोजी पनि छ,’ उनले भने, ‘यी सबै आधारमा उपयुक्त पात्र हाम्रै पार्टीका अध्यक्ष महन्थ ठाकुर हुनुहुन्छ ।’ लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि ऊ कांग्रेससँगै प्रतिपक्षमा छ ।
यसैगरी सीके राउत नेतृत्वको जनमत पार्टीका महासचिव चन्दन सिंहले सत्ता गठबन्धन र कांग्रेसबाट राष्ट्रपतिमा को उम्मेदवार हुन्छन्, त्यसपछि निर्णयमा पुग्ने जानकारी दिए ।
‘दलहरूबीच सहमतिको वातावरण बन्ने चर्चा पनि छ । राष्ट्रपतिमा सत्ता गठबन्धन र कांग्रेसकोतर्फबाट को उम्मेदवार बन्छन्, पहिले त्यो हेर्छौं,’ सिंहले लोकान्तरसँग भने, ‘उम्मेदवार हेरेर जनमत पार्टी एउटा टुंगोमा पुग्छ ।’
जनमत पार्टीले पनि केन्द्र र प्रदेश सरकारलाई समर्थन गरेको छ ।
यसैगरी नागरिक उन्मुक्ति पार्टीको अडान आफ्ना नेता रेशम चौधरीलाई रिहाइको छ । आफ्नो माग पूरा गर्ने दललाई समर्थन दिएर जाने उसको नीति छ ।
अन्य छुटपुट मत
राष्ट्रपतिको निर्वाचनमा स्वतन्त्र सांसदको मत पनि ८७५ रहेको छ । राष्ट्रपतिको प्रतिस्पर्धामा यिनीहरूले पनि प्रभाव पार्न सक्नेछन् । स्वतन्त्र मतमध्येबाट धेरै मत कांग्रेसले पाउन सक्ने चर्चा छ । स्वतन्त्रबाहेक राष्ट्रिय जनमोर्चाको १५८, नेपाल मजदुर किसान पार्टीको २२३, हाम्रो नेपाली पार्टीको ९६ र संघीय समाजवादी पार्टीको ४८ मत छ ।
पढ्नुहोस्, सम्बन्धित समाचारहरू :