
मूलधारका स्थापित राजनीतिक दललाई भ्रष्ट र अनैतिक तथा नेताहरूलाई पदलोलुपको आरोप लगाउँदै ‘नैतिक राजनीति’ गर्ने भन्दै दल खोलेका पूर्व पत्रकार रवि लामिछानेले गुमेको गृहमन्त्री पदमा बार्गेनिङ गरेर आफ्नो भेद खोलेका छन् ।
कीर्ते नागरिकता देखाएर राजनीतिक दल गठन गरेका रविले त्यही नागरिकताको भरमा चुनाव लडे, जितेर आए अनि अस्वाभाविक रूपमा एकैपटक उपप्रधानसहित गृह मन्त्रालय पाए ।
नागरिकताको विषय अदालतमा विचाराधीन रहेको र पासपोर्ट दुरुपयोगको आरोप लागेका लामिछानेलाई गृह प्रशासनको साँचो सुम्पिँदा नै यसको विरोध भएको थियो । सत्ता स्वार्थका लागि जस्तोसुकै सम्झौता गर्न तयार हुने राजनीतिक दलले रविलाई गृहको साँचो सुम्पेर बिरालोलाई दूधको साक्षी बनाए ।
जेहोस्, नागरिकतामा रविले गरेको जालसाजीलाई सर्वोच्च अदालतले मान्यता दिएन । संवैधानिक इजलासले लामिछानेले जालसाजीपूर्ण ढंगले प्रयोग गरेको नागरिकतालाई अवैध भनिदियो । सर्वोच्चको एक आदेशले उनको सांसद, मन्त्री र पार्टी सभापतिको पद एकै झड्कामा गयो ।
माघ १३ गते शुक्रवार सर्वोच्चको आदेशपछि आफूलाई ‘अनागरिक’ भएको गुनासो गर्दै लामिछाने निन्याउरो मुख लगाउँदै सिंहदरबारबाट लुरुलुरु बाहिरिए । सर्वोच्चको आदेशलाई स्वागत गर्ने बताएका रविले उपनिर्वाचनको तयारी गर्लान् भन्ने धेरैको विश्वास थियो । सर्वोच्चकोे आदेशले पदच्युत भएका लामिछानेलाई ३ दिनमै गृहमा फर्किने महत्त्वाकांक्षा पलायो, आफैंलाई पुनः गृहको चाबी दिनुपर्ने हठ राखे ।
सर्वोच्च अदालतको पूर्णपाठ पर्खने धैर्यता पनि उनले गरेनन् । झूटा नागरिकता पेश गरेर जितेको सांसद पद खारेज भइसक्दा पनि उनले आफूलाई लज्जाबोध गरेनन् । बरु सत्ता साझेदार दलका नेतामार्फत प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरेर तत्कालै सत्तामा पुग्ने सपना देख्न थाले ।
आइतवार जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्राप्ति गरेसँगै उनमा गृह मन्त्रालयमा फर्कने महत्त्वाकांक्षा पलायो, उनले एकैदिन पार्टीका ३ बैठक राखेर नाटकीय ढंगले आफूलाई पार्टी सभापति बनाए । त्यसैको आडमा गृह मन्त्रालयमा आफूलाई पुनर्बहाली नगरे पार्टी सरकारबाट बाहिरिने घुर्की प्रधानमन्त्री प्रचण्डलाई दिए । गृहमन्त्रीमा पुनः नियुक्त गर्न रास्वपाले दबाब दिएको प्रचण्डले पार्टी बैठकमा ब्रिफिङ गरेका थिए ।
चुनावपछि बनेको नयाँ संसद्को अधिवेशन शुरू भएको १ महिना नहुँदै गैरसांसदलाई मन्त्री, त्यो पनि गृहको जिम्मा लगाउनु संसदप्रतिको घोर अपमान हुने थियो । भोलिका दिनमा पनि प्रचण्डले गैरसांसदलाई मन्त्री नियुक्त गरे भने त्यो लोकतन्त्रप्रतिको घात हुनेछ ।
नैतिकताको पाठ सिकाएर, अनैतिकताको नमूना !
जुन प्रवृत्तिको विरोध गरेर रवि राजनीतिमा स्थापित भए, उनका क्रियाकलाप त्यही पुरानो कुराको पुनरावृत्ति गरिरहेका छन् । नैतिकताको पाठ सिकाउने उनले आफ्नै बोली बिर्सिए । उनी पत्रकारिता कर्ममा छँदा उपप्रधानमन्त्रीको भीड बनाइएकोमा विरोध गर्दथे । गैरसांसदलाई मन्त्री बनाइएकोमा उनको आक्रोश हुन्थ्यो ।
अक्टोबर ८, २०२१ मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा गजेन्द्र हमाल मन्त्री बनेको दिन रविले ट्वीटरमा लेखेको सन्देश अहिले सामाजिक सञ्जालमा छ्यापट्यापती छ । उनले लेखेका छन्, ‘गैरसांसद मन्त्री भै छाडे । विधि पद्धति, आदेश परमादेश फ्लोर क्रस र यो लिमिट क्रस, उफ् !’

रविको आजको हैसियत गजेन्द्र हमालको जस्तै हो तर उनी गृहमन्त्रीका लागि मरिहत्ते गरिरहेका छन् । आफूलाई गृहमन्त्रीको शपथ नगराए सरकारबाट बाहिरिने भनेर मोलमोलाइ गरिरहेका छन् । उनले भन्ने गरेकोे विधि र पद्धतिको कुरा आफ्नो हकमा भने लागू नपर्ने परिभाषा बनाउँदै छन् ।
लामिछानेका प्रत्येक क्रियाकलाप चुनावअघि आफैंले गरेका प्रतिबद्धताको विपरीत छन् । ‘रवि लामिछाने प्रालि’ जस्तै बन्न पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘हामी के गर्दैनौं’ शीर्षकमा लेखेको प्रतिबद्धता पत्रमा चुनाव हारेको व्यक्तिलाई चोर बाटोबाट सरकारमा नलैजाने उल्लेख थियो । लाज पचाएर आज उनी आफैं त्यहीँ चोर बाटोबाट गृहमन्त्री बन्नका लागि कहिले बालकोट र कहिले बालुवाटारको परिक्रमा गरिरहेका छन् ।
‘तातै खाउँ, जल्दै मरौं’ भने जसरी गृहमन्त्रीमा पुनः नियुक्ति हुन खोज्नुको उनको उद्देश्य पासपोर्ट छानबिनलाई फितलो बनाउनु रहेको सत्ता साझेदार दलका नेताहरू बताउँछन् । ‘उहाँलाई गृह मन्त्रालय नै चाहिने, आफैं नै मन्त्री बन्नुपर्ने कुराको अर्थ बुझ्न गाह्रो छैन तर पासपोर्टको छानबिन नटुंगिई फेरि गृह दिन सकिँदैन,’ प्रधानमन्त्री निकट स्रोतले लोकान्तरसँग भन्यो ।
गृहमा गएर पासपोर्ट छानबिनलाई फितलो बनाउने रविको भित्री योजनाको सूचना बालुवाटार पुगिसकेको छ । नागरिकताको विषयभन्दा पासपोर्टको विषय जटिल भएकाले त्यसलाई सामसुम पार्न उनले सरकारमा जाने र सत्ताको ‘दुरुपयोग’ गर्ने खतरा रहेको सुरक्षा स्रोतहरू बताउँछन् ।
वैकल्पिक राजनीति धमिल्याउने अर्को माछो !
रवि नेपाली राजनीतिको अपवाद बन्छन् र परम्परागत राजनीतिक दलले गरेका गल्ती दोहोर्याउँदैनन् भन्नेमा धेरैलाई सन्देह थियो । भयो पनि त्यस्तै । उनले सत्तारोहणको पहिलो महिनामै आफ्नो चरित्र उजागर गरेका छन् । परम्परागत दलभन्दा रवि फरक हुन्, उनले राजनीतिक चरित्र देखाउँछन् भनेर प्रतिरक्षा गर्नेहरू अहिले दुलो पस्नुपर्ने अवस्था आएको छ ।

चुनावको बेला रविको गुणगान गाउनेहरू अहिले गुमनाम भइसकेका छन्, उनको कदमको प्रतिरक्षा परको कुरा भयो, रविको अधैर्यतालाई बुझेका कतिपयले भने उनी ‘लङ रेशको घोडा’ होइनन् भनेर पहिल्यै विश्लेषण गरेका थिए । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रजस्ता मूलधारका राजनीतिक दलप्रतिको आक्रोशस्वरूप मंसिर ४ गतेको चुनावमा रवि लामिछानेले स्थापना गरेको दललाई भोट दिएका थिए ।
जनतासँग भावनात्मक कुरा गरेर पाएको भोटलाई उनीहरूले सत्ता बार्गेनिङको मोलमोलाई शुरू गरेका छन् । ‘विगतमा पनि वैकल्पिक राजनीति गर्छु भनेर आएका रवीन्द्र मिश्रहरूले वातावरण बिगारेका थिए, रवि वैकल्पिक राजनीतिको पानी धमिल्याउने माछो बने,’ विगतमा रवीन्द्रसँगै राजनीति गरेका एक नेताले भने ।