
झापाकी शर्मिला (नाम परिवर्तन) ले लामो समयदेखि सामाजिक सञ्जाल टिकटक प्रयोग गर्दै आएकी छन् । नयाँ–नयाँ ठाउँमा गएर भिडियो खिच्ने र भाइरल गीतहरूमा टिकटक बनाउने भएकाले उनका २ लाख ५० हजार भन्दै धेरै फलोअर्स छन् ।
उनले २० लाखभन्दा धेरै लाइक पाइसकेकी छन् । भर्खर २२ वर्ष पुगेकी शर्मिलाले डुएड गर्ने सिस्टम अन गरेकी छन् भने उनका भिडियो डाउनलोड गर्ने अप्सन पनि अन छ ।
टिकटकमा रमाइरहेकी उनलाई यसकै कारण समस्या झेल्नुपर्ला भन्ने लागेको थिएन । अहिले उनी तनावमा छिन् । सामाजिक बदनामी त भएको छ नै अभिभावकको गाली पनि खानुपरेको छ ।
उनको भिडियो डाउनलोड गरेर फेक आईडी बनाएर तथानाम लेखेर अपलोड गरिएको छ । उनको लिप्सिङमा अर्कैले अपशब्दहरू बोलेर भिडियो अपलोड गर्ने गरेको पाइएको छ । भिडियोमा ‘मेरो विवाह भएको छैन, यदि कसैलाई विवाह गर्न मन छ भने फोन गर्नुस्’, ‘म भर्जिन छु, कसैलाई भर्जिन .... छ भने नम्बर कमेन्ट गर्नुस्,’ लेखेर भिडियो राखिएको छ ।
सोही फेक आईडीका कारण वास्तविक आईडीमा समेत जथाभावी कमेन्ट आएर उनी हैरान छिन् । चौतर्फी बदनामी हुन थालेपछि उनले प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी छन् ।
प्रहरीका अनुसार यो प्रतिनिधिमूलक घटना मात्र हो । पछिल्लो समय सामाजिक सञ्जालमा चर्चित व्यक्तिहरूको भिडियो तथा फोटोको दुरुपयोग गरेर अपराध बढिरहेको छ ।
‘अहिले टिकटकमा अर्कै व्यक्तिको भिडियोमा अपशब्दहरू बोलेर भिडियो बनाउने समस्या देखिएका छन्,’ साइबर ब्यूरोका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजकुमार खड्गीले लोकान्तरसँग भने ।
सञ्चारमाध्यममा बोलेका कुराहरूको भिडियो काटेर टिकटकमा अनर्थ लाग्ने गीत र अडियो राखी पोस्ट गर्ने गरेको पनि देखिएको छ । २ जनाको भिडियो जोडेर समाजमा अपाच्य शब्दहरूको प्रयोग गर्ने गरेको समेत देखिएको इन्सपेक्टर खड्गीले बताए ।
टिकटकबाटै अहिले जुवा खेलाउने र सट्टेबाजीको काम पनि हुने गरेको देखिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले माघ ४ गते टिकटक लाइभमा जुवा खेलाएको आरोपमा ललितपुर– २८ हरिसिद्धिका ३५ वर्षीय हरिशचन्द्र मल्ललाई पक्राउ गरेको थियो । उनी टिकटक लाइभमा जुवा खेलाएर डिजिटल वालेटबाट कारोबार गरेको आरोपमा पक्राउ परेका थिए । उनले जुवा खेलाएर १५ दिनमा ८ लाख ५३ हजार रुपैयाँ कारोबार गरेको खुलेको थियो ।
प्रहरीका अनुसार पछिल्लो समय टिकटक लाइभमा बसेर विभिन्न अपराध गर्ने गरेको देखिएको छ । साइबर ब्यूरोको तथ्यांकअनुसार यो आर्थिक वर्षको पहिलो ६ महिनामा मात्रै २ सय ६२ वटा उजुरी परेका छन् । आर्थिक वर्ष २०७८/०७९ मा २ सय ३३ वटा उजुरी परेका थिए । आर्थिक वर्ष २०७७/०७८ मा जम्मा ७० वटा उजुरी आएको थियो । अहिले उजुरी आउने क्रम निकै बढेको छ ।
ब्यूरोको तथ्यांकअनुसार यो आर्थिक वर्षको ६ महिनामा फेसबूकमा अपराध गरेको भने २ हजार ९२७ वटा उजुरी परेको छ । भाइबर अपराध ४, इमो अपराध १०, युट्युब अपराध २५, ह्पाट्स एप अपराध १२२, ट्वीटर अपराध १३, इन्स्ट्राग्राम अपराध २८०, वेबसाइड ह्याक २२, इमेल ह्याक/अपराध २३, इसेवाबाट अपराध ७२ र बैंकहरूबाट ठगीका ९३ वटा उजुरी परेका छन् ।