
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन फागुन १२ देखि १४ गतेसम्म हुनेभएको छ । प्रतिष्ठानले मंगलबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले प्रतिष्ठानको विकास र व्यवस्थापनमा कोरोनाका कारण सोचेकोजस्तो काम गर्न नसकिएको बताए । कलाकर्मीहरुलाई कोरोना महामारीको कहर एकदमै कष्टकर भएको उनको भनाइ छ ।
धादिङ कला र संस्कृतिको उर्वरभूमि भएकाले यस पटकको महाधिवेशन धादिङवेशीमा गर्न लागिएको उनले स्पष्ट पारे । कार्यक्रमको जिम्मा केन्द्रीय सदस्य अमृत अधिकारी र राजकुमार रायमाझीलाई दिइएको छ ।
आठौं महाधिवेशनमा नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष रीता थापा, गायक पशुपति शर्माको नाम चर्चामा छ ।
महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, ६ प्रदेशस्तरीय समिति, आजीवन सदस्यहरु, मानार्थ सदस्यहरु र केन्द्रीय समितिसहितका प्रतिनिधि गरी करिब एक हजार जनाको सहभागिता रहने अध्यक्ष विजीले बताए ।