
बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित धार्मिक गन्तव्यमा विकसित हुँदै गएको बर्फानी बाबा मन्दिर क्षेत्र विकासको योजना कार्यान्वयनमा आएको छ ।
चुरे क्षेत्रमा रहेको पर्यटकीय स्थलको प्रवद्र्धनमा सहयोग पुग्ने जनाइएको छ ।
लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसीले भने, ‘दर्शनार्थीका लागि आवश्यक धर्मशाला निर्माण, पानी तथा शौचालयको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माण शुरू भएको छ, अहिले हेलिप्याड निर्माण शुरू भएको छ ।’
बाबा बर्फानीमा नरैनापुर क्षेत्रबाट बाटो बनाइँदैछ । उनले आश्रमलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न प्रदेश सरकारले ३८ लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए । बाबा बर्फानी मन्दिर क्षेत्रलाई धार्मिक तथा पर्यटकीयस्थलका रूपमा विकास गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण थप्न र आवागमनका लागि आवश्यक पूर्वाधार बनाउन आफूले पहल थालिसकेको उनले जानकारी दिए ।
हिँडेर त्यहाँसम्म पुग्न नसक्ने तीर्थालु तथा पर्यटकको सेवाका लागि हेलिकप्टर प्रयोगको सुविधाका लागि हेलिप्याड बनाउन लागिएको हो । गत वर्ष नाट्टा नेपालगञ्ज च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलको पहलमा हेलिकप्टरबाट बाबा बर्फानी र सन्तानेश्वर महादेव जाँदा हेलिप्याडको अभावमा ल्याण्ड हुनसकेको थिएन ।
उनले भने, ‘ढिलै भए पनि काम शुरू भएछ, खुशी लागेको छ, सरकारले पर्यटनलाई बुझेर मात्रै लगानी गरिदिँदा त्यसको लाभ समुदायले लिनसक्छ ।’