
बिरामी सुरक्षासम्बन्धी पाँचौं मन्त्रीस्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीसँग विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससबीच डब्ल्यूएचओको कार्यालयमा भेटवार्ता भएको छ ।
भेटमा मन्त्री गिरीले विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको लागि धन्यवाद दिए । विशेषगरी पोलियो लगायत खोप, विभिन्न प्रकोपको नियन्त्रण रोकथाम, निवारण र उन्मूलनमा खेलेको योगदानको साथै मातृशिशु स्वास्थ्यमा नेपालका लागि खेलेको भूमिकाका लागि मन्त्री गिरीले महानिर्देशक डा. टेड्रोसप्रति आभार प्रकट गरे ।
भेटमा गोर्खा भूकम्प, हैजाको प्रकोप, कोभिड विरुद्धको खोप नेपालका लागि उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनले खेलेको भूमिकाका लागि समेत मन्त्री गिरीले उनीप्रति धन्यवाद व्यक्त गरे ।
मन्त्री गिरीले नसर्ने रोग, मानसिक स्वास्थ्य तथा जैविक औषधिको प्रतिरक्षा प्रणाली लगायत हाल भइरहेका गतिविधि विस्तार र आपसी सहकार्य समन्वय लगायतका विषयमा आफ्नो धारणा राखे । विश्व स्वास्थ्य संगठनले समन्वय सेन्टर निर्माण, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सुदृढीकरण, स्वास्थ्य सुरक्षा र अन्तर्राष्ट्रिय स्वास्थ्य नियमनको कार्यान्वन गर्न मूल क्षमता अभिवृद्धिका लागि निरन्तर सहयोगका विषयमा पनि भेटमा छलफल भएको मन्त्री गिरीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीले जानकारी दिए ।