
लुम्बिनी प्रदेशमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान शुरू भएको छ ।
लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले लुम्बिनी प्रदेशका तीन जिल्लामा अभियानको दाङको देउखुरीबाट शुभारम्भ गरे ।
लुम्बिनी प्रदेशका दाङ, कपिलवस्तु, बाँकेसहित मुलुकका १५ जिल्लामा यो अभियान शुरु भएको छ ।
अभियान फागुन २५ गतेसम्म सन्चालन हुनेछ ।
झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलाली जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान सन्चालन भएको हो ।
दुई वर्ष उमेर पूरा गरेका सबैले यो औषधि खानुपर्छ । तर दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, ७ दिनसम्मका सुत्केरी र सिकिस्त भई ओछ्यान परेका बिरामीहरुले भने हात्तीपाइले रोगविरुद्ध औषधि खान नहुने स्वास्थ्यकर्मीको भनाइ छ ।
तालिमप्राप्त स्वास्थ्यकर्मीको उपस्थितिमा सार्वजनिक स्थलहरूमा औषधि खुवाउने भएकाले आफूलाई पायक पर्ने ठाउँमा पुगेर औषधि सेवन गर्न मुख्यमन्त्रीले आग्रह गरे ।