
सर्लाहीका सामुदायिक विद्यालयमा ५ हजारभन्दा बढी शिक्षक कर्मचारीको दरबन्दी खाली छ ।
जिल्लामा ४७८ सामुदायिक विद्यालय रहेकोमा ५ हजार ३१७ शिक्षकको दरबन्दी खाली छ ।
जिल्लामा ४७८ सामुदायिक विद्यालय रहेकोमा २ हजार ३८८ शिक्षक कार्यरत छन् भने ५ हजार ३१७ शिक्षकको दरबन्दी खाली रहेको शिक्षा विकास तथा समन्वय एकाई सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहले जानकारी दिए । विद्यालय सहायक परिचर ४७८, विद्यालय सहयोगी कर्मचारी ८६ तथा निजी स्रोतका शिक्षक १०८ दरबन्दीमा कार्यरत रहेका उनले बताए ।
जिल्लामा रहेका ४७८ सामुदायिक विद्यालयमा ५ हजारभन्दा बढी जनशक्ति कार्यरत रहे पनि सामुदायिक विद्यालयको अवस्था दिनानुदिन खस्किँदो छ ।
जिल्लामा रहेका ४७८ सामुदायिक विद्यालयमा २ हजार ९३९ शिक्षकको दरबन्दी अतिआवश्यक रहेको कुशवाह बताउँछन् । रिक्त शिक्षक दरबन्दी पदपूर्ति नहुँदा सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रवाह गर्न नसकेको गुनासो आउने गरेको उनको भनाइ छ । जिल्लामा अधिकांश सामुदायिक विद्यालयमा तहगत शिक्षक, विषयगत शिक्षक र विद्यार्थी तथा शिक्षकको अनुपात मिलान नहुँदा शिक्षा र अध्यापनमा सुधार हुन सकेको छैन । २० स्थानीय तह रहेको सर्लाहीमा हरेक स्थानीय तहमा १० भन्दा बढी सामुदायिक विद्यालय छन् ।
सामुदायिक विद्यालयको गुणस्तर खस्किँदो अवस्थामा रहेका कारण विद्यार्थी संख्या न्युन हुँदै गएको छ । केही विद्यालयमा विद्यार्थी संख्या धेरै रहेको भए पनि शिक्षकको अभाव छ । केही विद्यालयमा शिक्षक मात्र छन् भने केहीमा विद्यार्थी नै नभएको अवस्था छ ।