०६ असार २०८३, शनिबार

विद्यालयलाई २ पूर्व शिक्षकले गरे आर्थिक सहयोग

फागुन २१, २०७९
विद्यालयलाई २ पूर्व शिक्षकले गरे आर्थिक सहयोग
प्रतिकात्मक तस्वीर

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना काभ्रेमा रहेको सरस्वती आधारभूत विद्यालयलाई २ पूर्व शिक्षकले २ लाख रुपैयाँ बढी आर्थिक सहयोग गरेका छन् ।

अन्नपूर्ण–३ दानाका गंगाबहादुर पुर्जा र उनकी पत्नी योमाया पुर्जाले १ लाख ५१ हजार १०५ रुपैयाँ सहयोग गरेका हुन् । यसअघि १ लाख सहयोग गरेका हाल बेलायतमा बसोबास गर्ने गंगाबहादुरका भाइ कमलबहादुर पुर्जा र उनकी पत्नी शान्ति पुर्जाले थप ५० हजार रुपैयाँ उपलब्ध गराएका छन् । 

बिदा मनाउने क्रममा नेपाल आएका पुर्जा परिवारले काभ्रेमा पुगेर विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकलाई नगद हस्तान्तरण गरेका थिए । पुर्जा दाजुभाईले बेलायती सेनामा भर्ती हुनुअघि मुस्ताङको सिमानामा रहेको विद्यालयमा अध्यापन गराएका थिए । ५० विद्यार्थी अध्ययनरत विद्यालयका निजी स्रोतका शिक्षकको तलबका लागि सहयोग रकम परिचालन गरिने विद्यालयले जनाएको छ । 

शारीरिक रूपमा अपाङ्गता भएका पुर्जाले यसअघि पनि बेलायत सरकारले पेन्सन बापत दिने तलब बापतको रकम जिल्लाका विभिन्न विद्यालयलाई उपलब्ध गराएका छन् । सन् १९८९ मा गोर्खा सैनिकमा भर्ति भएका पुर्जा सन् २००६ मा सेवा निवृत्त भएका थिए । सैनिक सेवामा प्रवेश गरेको ३ वर्षमै ढाडमा समस्या देखिएपछि उनी अहिले पनि वैशाखीको साहराले हिँडडुल गर्छन् ।

उनले प्रवासी नेपालीलाई सहयोग गर्ने उद्देश्यले मद्दत समूह नामक संस्था पनि स्थापना गरेका छन् । शारीरिक रूपमा अशक्त भए पनि पुर्जाले दुःखमा परेका नेपालीलाई बेलायतमा सहयोग जुटाउन सक्रिय भूमिका निभाउँदै आएका छन् । समूहलाई बेलायत सरकारले ‘क्वीन अवार्ड’ समेत प्रदान गरेको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्