
गत शुक्रबारबाट दुई वटा नेपाली चलचित्र ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ एकसाथ प्रदर्शनमा आए ।
दुवै प्रतीक्षित मानिएका चलचित्र एक साथ प्रदर्शनमा आउँदा ‘छक्का पञ्जा ४’ले आक्रामक व्यापार गरिरहेको छ भने ‘छड्के २’को अवस्था ‘पत्तासाप’ देखिएको छ ।
‘छड्के २’ले पाएका अधिकांश शो मा दर्शक नहुँदा चलचित्र उत्रिने चरणमा पुगेको देखिएको छ । देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजबाट ‘छड्के २’ उत्रिसकेको छ ।
‘छक्का पञ्जा ४’ले भने शो अझ बढाउँदै लगेको छ ।
भोलि (बुधवार) क्यूएफएक्समा ‘छक्का पञ्जा ४’ले ७२ शो पाएको छ । यसमध्ये केही शोहरुमा बुकिङ मंगलवार साँझदेखि फिलिङ फास्टमा देखिएको छ ।
बुधवारबाट क्यूएफएक्समा ‘छड्के २’ उत्रिसकेको छ । अर्थात, चलचित्रले भोलि क्यूएफएक्समा एउटा पनि शो पाएको छैन । बरु, ‘फूलबारी’ तेस्रो सातामा प्रदर्शन भईरहेको छ । यो चलचित्रले भोलि क्यूएफएक्समा ४ शो पाएको छ ।
‘छड्के–२’लाई निगम श्रेष्ठले लेखन एवं निर्देशन गरेका हुन् ।
चलचित्रमा अनमोल केसी, रोविन तामाङ, कमलमणि नेपाल, रेशा आले मगर, निगम श्रेष्ठलगायतका कलाकारहरूको अभिनय छ ।