
नेपालमा वायुसेवा कम्पनी त छन्, तर बजारमा उत्पादन भएर आउने नयाँ पाइलटलाई रोजगारी दिने कम्पनी छैनन् ।
निजी वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरले जे जति पाइलटलाई रोजगारी दिन सकेका छन्, त्यतिमै सीमित छ पाइलटको नेपाली बजार । त्यो भन्दा बढी न अरू निजी कम्पनीको योगदान छ, न त सरकारी वायुसेवाको नै ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडान ठप्पप्रायः छ । निगमले न थप विमान किन्न सकेको छ, न त भएकैलाई उडाउन सकेको छ । आन्तरिक उडानमा भएका ५ वटा विमान कोरोना महामारीपछि त्रिभुवन विमानस्थलमै घाम तापेर बसेका छन् । २ वटा ट्वीनअटर विमान पनि कहिले उड्ने, कहिले थन्किने गरेका छन् ।
अन्तर्राष्ट्रिय उडानमा ४ वटा मात्रै विमान लिएर वर्षौंदेखि बसिरहेको निगमले विमान थप्न नसक्दा पाइलटका लागि नयाँ रोजगारी सिर्जना हुन सकेको छैन । निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय उडान गर्ने एक मात्र नेपाली वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पनि ४ वटा विमानबाट मात्र सेवा दिँदै आएको छ ।
नेपालमा वायुयान थोरै हुँदा र वायुसेवा कम्पनीले विमान थपेर बजार विस्तार गर्न नसक्दा भएकै पाइलटको रोजगारी सुनिश्चित हुन सकेको छैन भने थपले अवसर पाउन पनि मुश्किल छ ।
नेपालमा रोजगारी नभएकै कारण पाइलट अध्ययन गर्न विदेशिनेमध्ये आधाभन्दा बढी उतै हराउने गरेका छन् । पछिल्लो ६ वर्षमा नेपालबाट पाइलट अध्ययन गर्न जानेको संख्या ६०९ जना पुगेको छ, यसमध्ये अध्ययन सकेर फर्कनेको संख्या जम्मा २०५ मात्रै छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालबाट सन् २०१७ देखि हालसम्ममा ४८४ पुरुष र १२५ महिला पाइलट अध्ययनका लागि बाहिरिएका छन् । यसमध्ये फिक्स विङ्ग्स विमानका १९५ र हेलिकप्टरका १४ जना पाइलट मात्र अध्ययन सकेर फर्किएका छन् ।
नागरिक उड्डयन प्राधिकरणबाट इजाजतप्राप्त कमर्सियल पाइलट लाइसेन्स (सीपीएल) प्राप्त गर्नेको संख्या जम्मा ६५७ मात्रै छ, यसमध्ये जम्मा १७५ जना सीपीएल पाइलटसँग मात्रै मान्यताप्राप्त इजाजत पत्र छ । यो बाहेक एयर ट्रान्सपोर्ट पाइलट लाइसेन्स (एटीपीएल)को मान्यताप्राप्त १८४ र हेलिकप्टरका ८ जना मात्रै पाइलट छन् ।
नेपालबाट बाहिर अध्ययन गर्न जाने पाइलटले अनिवार्य रूपमा प्राधिकरणबाट ‘नो अब्जेक्सन’ लेटर लिनुपर्छ । नेपालमा उडान अनुमति पाउन प्राधिकरणले तोकेकै संस्थाबाट तालिम लिएर आउनुपर्ने व्यवस्था छ ।
प्राधिकरणले दक्षिण अफ्रिका, फिलिपिन्स, अमेरिका, क्यानडा, माल्टा, न्युजिल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना, थाइल्यान्डसहितका मुलुकमा जान अनुमति दिएको छ । यी देशमध्ये नेपालीहरूको रोजाइमा फिलिपिन्स, साउथ अफ्रिका र अमेरिका पर्छन् । नेपालबाट पाइलट अध्ययन गर्न जाँदा कम्तीमा ५० लाख रुपैयाँ खर्च हुने सम्बन्धित देशमा अध्ययन गरेर फर्किएका पाइलटहरूको भनाइ छ ।

नेपालमा रोजगारीको अवसर नहुँदा बाहिर अध्ययन गर्न गएका नेपालीले सकभर उतै अवसर खोज्छन् भने केही मात्रै फर्कन्छन् । विदेशमा पाइलट अध्ययन गर्न गएकाहरूले न्यूनतम् २ सय घण्टा उडानसहितको तालिम लिएकै हुनुपर्छ ।
कतिपय नेपालीहरूले तोकिएको अवधिमा कोर्स पूरा गर्न नसकेर समय थप गर्ने गरेका पनि छन् । कोरानापछि विभिन्न देशका वायुसेवा कम्पनीमा काम गरिरहेका सिनियर पाइलट नै फर्किनुपर्ने बाध्यताका आयो । त्यसपछि अवसर कम भएका कारण पनि करोड खर्च गरेर अध्ययन गरेका पाइलट समेत बेरोजगार बनेका छन् ।
नेपालबाट बुद्ध एयरले नै पाइलटलाई अवसर दिएर बाहिर पठाउने गरेको थियो । ५ वर्ष जति पठाएपछि कोभिड शुरू भयो । कोभिडअगाडि बुद्ध एयरले मात्रै १२/१५ जना पाइलटलाई विदेशी वायुसेवामा पठाएको थियो । अहिले यस्तो अवसर ठप्प भएको बुद्ध एयरका अपरेसन निर्देशक सुवर्ण खरेलले बताए ।
उनले भने, ‘केही वर्षअगाडि पाइलट अध्ययनका लागि एकैपटक धेरैजना गए । नेपालमा अवसर पाउन छाडेपछि अहिले अध्ययन गर्न पनि कम जाने र फर्किएर आएकामध्ये थोरैले मात्रै अवसर पाउने गरेका छन् ।’
तालिम लिएर फर्किएपछि पनि पाइलटले थप खर्च नगरे अवसर पाउँदैनन् । बाहिरबाट न्यूनतम् तालिम लिएर आएपछि फेरि सम्बन्धित वायुसेवाले दिने विभिन्न प्रकारका तालिमका लागि खर्च गर्नुपर्ने हुन्छ ।
यस्तो तालिमको शुल्क विमानको प्रकृति र कम्पनीअनुसार फरक–फरक हुन्छ । स्वदेशमा त्यस्तो अवसर पाए पनि ४/५ वर्ष मेहनत गरेर २५ देखि ५० लाख थप खर्च गर्दा मासिक ४/५ लाख रुपैयाँ कमाउन पनि गाह्रो पर्ने गरेको पाइलटहरू बताउँछन् ।
पाइलट अभाव हुँदा आफैं खर्च गरेर अध्ययन र तालिम दिएर रोजगारी दिने कम्पनीहरूमा अवसर पाउन अहिले उल्टै खर्च गर्नुपर्ने बाध्यता रहेको पाइलट अध्ययन सकेर फर्किएकाहरू बताउँछन् ।
पाइलटले ६/६ महिनामा लाइसेन्स रि–भ्यालिडेसन गर्नुपर्ने, २ वर्षमा टाइप रेटिङ गर्नुपर्ने र ५ वर्षसम्म विमान नउडाएको अवस्थामा पुनः तालिम लिनुपर्ने हुन्छ । नियमितरूपमा लिइरहनुपर्ने तालिमका कारण पनि पाइलट अध्ययन र त्यसपछि पाइने अवसर महंगो भएको हो ।
विमान कम्पनीले निरन्तर रूपमा प्रगति गरेको अवस्थामा थप पाइलटले पनि अवसर पाइरहने हुन्छन् । एउटा विमान थप हुँदा कम्तीमा ६ जना पाइलटले अवसर पाउँछन् । तर, अहिले न नेपाली वायुसेवा कम्पनीले उल्लेख्य प्रगति गर्न सकेका छन्, न त विमान नै थपिएका छन् ।
अहिले बुद्ध एयरले दुईवटा बीचक्राफ्ट विमान विदेशी कम्पनीलाई बेचेको छ भने गुण एयरलाइन्सको सातैवटा विमान उडेका छैनन्, जसका कारण भएकै पाइलट बेरोजगार छन् ।
यी दुई वायुसेवाका मात्रै अहिले करीब ५५ जना पाइलट फुर्सदमा छन् । भएकै पाइलट फुर्सदमा हुँदा नयाँले अवसर पाउने अवस्था शून्यप्रायः छ ।
अध्ययन सकेर फर्किएको २ वर्ष भयो, अझै बेरोजगार !
पाइलट अध्ययनका लागि साउथ अफ्रिकामा दुई वर्ष बिताउँदा झापाकी अनुष्का अधिकारीको ६५ लाख रुपैयाँ सकियो ।
तालिम सकेर नेपाल फर्किएको पनि २ वर्ष हुनै लागिसक्यो, तर उनले विमान उडाउने अवसर पाएकी छैनन् ।
उड्डयन प्राधिकरणबाट सीपीएलको इजाजत पत्र पाएकी अधिकारी एकपछि अर्को वायुसेवा कम्पनी चहार्दै हिँडिन्, तर पाइलट चाहियो भनेर उनलाई कुनै पनि वायुसेवाले अफर गरेका छैनन् ।
उनले अफर पाइहालिन् भने पनि अझै तालिमका नाममा कम्तीमा २५/३० लाख रुपैयाँ गर्नैपर्ने बाध्यता छ ।
एकतिर विदेश पढ्न जाँदा भएको खर्च र अर्कातिर लामो समय बेरोजगार बसेर पनि थप खर्च गर्नुपर्ने बाध्यता उनलाई छ । यसले पनि पाइलट अध्ययन खर्चिलो भएको देखाउँछ । अधिकारीजस्तै सीपीएल पाइलटको इजाजत पाएका अरू कैयन पाइलट यस्तै तनाव र अन्योलमा छन् ।
सीपीएल पास गरेपछि निजी क्षेत्रमा रोजगारी पाउन कम्तीमा २५ लाख खर्च गर्नुपर्ने एक पाइलटले बताए । ४५ दिनको तालिम अनिवार्य हुने र सो तालिम अवधिभरको खर्च सम्बन्धित पाइलटकै हुने उनको भनाइ छ ।
तालिम सकेर आएपछि र प्राधिकरणले औपचारिक स्वीकृति दिएपछि मात्रै पाइलटले तलब पाउँछन् । एउटा पाइलटले विदेशमा गएर लिने तालिम, तालिम अवधिभरको खर्च र नेपाल आएपछि सीपीएल पास गरेर लिइने तालिमका लागि १ करोड रुपैयाँभन्दा बढी खर्च हुने बुद्ध एयरका अपरेसन निर्देशक खरेलले बताए ।
अहिले बजारमा आएका पाइलटभन्दा बढी नयाँ अवसरको खोजी गर्दै अध्ययन गर्न गएका छन् । तीमध्ये कसैको अध्ययन पूरा नहुने, कसैले उतै काम गरेर लागत उठाएर मात्र आउने र कसैको पढाइको अवधि नै लम्बिने गरेकाले नेपाल फर्किनेको संख्या कम देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।
उनका अनुसार पाइलट पढ्नु आफैंमा खर्चिलो विषय हो । अध्ययन र कम्तीमा २ सय घण्टा उडानको तालिम सकेर फर्किएपछि प्राधिकरणले लिने परीक्षा उत्तीर्ण गरेर मात्र बजारमा जान पाइन्छ ।
प्राधिकरणले लिने सीपीएल परीक्षा पास गर्दैमा जागिर पाइने ग्यारेन्टी हुन्न । बजारमा डिमान्ड र सम्बन्धित वायु सेवाले स्वीकार गर्नुपर्छ ।
बाहिरबाट पाइलट पढेर आएका तर नेपालमा अवसर नपाएका थुप्रै पाइलट रहेको पनि प्राधिकरणले जानकारी दिएको छ ।
नेपालीहरूले पाइलट अध्ययन गर्न सक्ने गरी अनुमतिप्राप्त संस्थाहरू :


