
आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०)सम्म हुने छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) मा अभिनेत्रीद्धय प्रियंका कार्की र माल्भिका सुब्बा अनि निर्देशक रेनाशा राईले डेढ घण्टा लामो ‘सेसन’ चलाउने भएका छन् ।
‘आमा नायिका : जिम्मेवारी र करियर’ विषयक उक्त सेसनमा ‘प्यानलिष्ट’हरु चर्चित अभिनेत्रीद्धय प्रियंका कार्की, माल्भिका सुब्बा र निर्देशक रेनाशा राईले आफ्नो अनुभव सुनाउने छन् ।
आमा भएपछि काममा कति सजिलो र कति अप्ठ्यारो हुने रहेछ ? तीन चर्चित यी चलचित्रकर्मीहरुको अनुभव रोचक हुने आयोजकले विश्वास लिएको छ ।
यस सेसनको मध्यस्थता गर्ने छिन्, पत्रकार सन्ध्या थापाले ।
नायिकाहरूको यो सेसन आउँदो चैत ६ (२० मार्च) गते सोमबारका दिन नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा सञ्चालन हुने छ ।
३५ देशका चलचित्रकर्मीको प्रतिनिधित्व हुने यस महोत्सवमा छनौट भएका ९५ प्रतियोगी चलचित्रको प्रदर्शन क्यूएफएक्सद्धारा सञ्चालित सिनेमा हलहरु काठमाडौंको सिभिल मल र छायाँ सेन्टर, पुल्चोकको लविङ मल र भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा हुनेछन् ।
‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुने छ । कार्यक्रमको उद्घाटन सिभिल मल सुन्धारामा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने निफका अध्यक्ष के.पी. पाठकले जानकारी दिएका छन् ।
टिकट बुकिङ यसअघि नै खुला भइसकेको छ । ‘खल्ती एप’मार्फत टिकट बुकिङ गर्न सकिने निफले जानकारी दिएको छ ।