शिरानमा गाउँ । पुछारमा जंगल । बीचमा ३ सुविधासम्पन्न आधुनिक भवन सहितको किसानी कृषि प्राविधिक शिक्षालय ।
म्याग्दीको मालिका गाउँपालिका–७ बिमस्थित शिक्षालयले बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले ‘खेतबारीमा विद्यार्थी’ अभियान सञ्चालन गरेको छ ।
व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान, पशु चिकित्सा (भेटेरेनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण बढेको छ । बिममा २०६८ सालमा सीटीईभीटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ देखि ३ वर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र ३ वर्षे पशु विज्ञान तहको पठनपाठन शुरू भएको थियो । अहिले यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका शिक्षालयका प्रमुख करन कँडेलले बताए ।
कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पठनपाठन हुन थालेपछि विद्यार्थी अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन् । ‘कृषि पढ्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले किसानका खेतबारीमै पुगेर प्रयोगात्मक अभ्यास गराउनुका साथै फलफूल खेती, तरकारी खेती, दलहन बाली र रैथाने जातका कृषि उपज उत्पादन गरी बजारमा लगेर बिक्री गर्ने गरेका छौं,’ उनले भने, ‘हाम्रो आफ्नै कृषि फार्म छ, त्यहाँ तरकारी र फलफूल खेती, च्याउखेती, माछापालन आदि गरेका छौं, खेतबारीमै पुगेर किसानसँगसँगै अभ्यास गर्दा अझ व्यावहारिक हुने भएकाले किसानकै खेतबारीमा पठाउने गरेका हौं ।’
कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले विद्यालयमा शिक्षामात्र लिएका छैनन्, उनीहरूले जानेको प्राविधिक सहयोग किसानलाई समेत दिन थालेका छन् । विद्यार्थीले किसानको समस्या पहिचान गरी सहयोग गर्दै आएका कँडेलले बताए । किसानले समेत कृषिलाई आधुनिकीकरण गर्दै कृषिमा हुने समस्याबारे जानकारी लिन सहज भएको छ ।
बिमको कृषि प्राविधिक शिक्षालयमा १८ महिने जेटिएको अध्ययन सकेर अहिले मङ्गला गाउँपालिकाको कृषि शाखामा कार्यरत जगत बानियाँ, बेनीको एक गैरसरकारी संस्थामा कार्यरत कृष्ण सुवेदी, जुम्ला खलंगाकी जानुका बडाललगायत ६० जनाभन्दा बढी युवायुवतीले रोजगारी पाउनुका साथै व्यक्तिगत रूपमा नै कृषि फार्म सञ्चालन गरेर आम्दानी गर्दै आएका शिक्षालयका प्रमुख कँडेलले बताए ।
शिक्षालयका विद्यार्थीले पढाइसँगसँगै आम्दानी पनि गर्दै आएका छन् । विद्यालयले २० रोपनी जग्गा भाडामा लिएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिँदै आएको छ । विद्यार्थीले बारीमा लगाएका कृषिउपज स्थानीय बजारमै खपत हुने गरेका छन् । बिक्रीबाट आएको नाफा ७५ प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने र २५ प्रतिशत चाहिँ विद्यालयले राख्ने गरेको छ ।
‘हामीले विद्यालयबाट विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बीउबिजन सबै उपलब्ध गराउँछौं,’ शिक्षालयका प्राचार्य जंगबहादुर गर्बुजाले भने, ‘विद्यार्थीले खेती उब्जाउबाट बिक्री गरेको रकमको २५ प्रतिशत हामी राख्छौं, किनभने फेरि अर्कोपटक पनि लगानी गर्नुपर्ने हुन्छ ।’
विद्यार्थीको धेरै समय कक्षाकोठामा भन्दा खेतबारीमै बित्ने गरेको छ । उनीहरूले विद्यालयमा अध्ययन गरेका कुरा घरमा गएर अभिभावकलाई सिकाउँछन् । परम्परागत खेती गर्दै आएका अभिभावक पनि आफ्ना छोराछोरीले सिकेको ज्ञान खेतबारीमा लगानी गर्न सकेकोमा खुशी छन् ।
‘घरका सबैले पुरानै तरिकाबाट कृषि गर्दै आएका थियौं, खेतबारीमा दिनै फाल्दा समेत तरकारी खेतीबाट कुनै पनि आम्दानी हुनसकेको थिएन,’ तिलकुमारी रिजालले भनिन्, ‘उही निर्वाहमुखी खेती भइरहेको थियो, १ वर्षअघिदेखि छोरीले विद्यालयमा सिके अनुसारले खेती गर्न थालेका छौं, उत्पादन पनि बढेको छ, धेरथोर बजारमा पनि बिक्री गर्न सकेका छौं ।’
विद्यार्थी गाउँमै बाली विज्ञान पढ्न पाएकोमा खुशी छन् । प्राविधिक विषय पढेपछि बेरोजगार हुन पर्दैन भन्ने विश्वास विद्यार्थीमा देखिन्छ । ‘मेरो सानैदेखि कृषि रुचिको विषय हो,’ आईएस्सी एजी प्रथम वर्षमा पढ्ने विशाल रिजालले भने, ‘सानैदेखि घरमा बुवाआमासँगै खेतबारीमा जाने उहाँहरूलाई सघाउने गर्थें । शहरमा महंगो शुल्क तिरेर पढ्नुपर्ने विषय गाउँमै सस्तोमा पढ्न पाएकोमा खुशी छु ।’ टाढाबाट आउने विद्यार्थीका लागि बस्ने समस्यालाई मध्यनजर गरेर शिक्षालयले छात्राबास निर्माण गरेको छ । – ध्रुवसागर शर्मा/रासस