
ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको र प्लेटिनम मान्यता प्राप्त एसीसीए प्रदायक संस्था 'ब्रिटिस प्रोफेसनल कलेज' (बीपीसी)ले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट (एसीसीए)सँगको सहकार्यमा पोखरामा एक वृहत् लेखा शिक्षक कार्यशाला गरेको छ।
यही जेठ २३ गते पोखरा इभेन्ट सेन्टरमा 'आइएफआरएस र एनएफआरएस' सम्बन्धी उक्त व्यावसायिक विकास कार्यशाला गरिएको कलेजले जनाएको छ ।
उक्त कार्यशालामा गण्डकी क्षेत्रका १५० भन्दा बढी विद्यालय तथा कलेजका २०० भन्दा बढी लेखा तथा वित्त क्षेत्रका शिक्षक एवं प्राध्यापकहरूको सहभागिता रहेको थियो ।
अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड र नेपाल वित्तीय प्रतिवेदन मापदण्डबारे शिक्षकहरूको बुझाइलाई अझ सुदृढ बनाउने र लेखा शिक्षामा उत्कृष्टता प्रवर्द्धन गर्नु कार्यशालाको उद्देश्य रहेको थियो ।

कार्यशालाको प्राविधिक सत्रहरू एफसीसीए विक्रान्त आचार्यले सञ्चालन गरेका थिए। उनले वर्तमान लेखा अभ्यास, वित्तीय प्रतिवेदनका मापदण्ड र यस क्षेत्रमा भित्रिएका नवीनतम् प्रवृत्तिहरूबारे व्यावहारिक ज्ञान र अन्तर्दृष्टिको चर्चा गरे ।
कार्यक्रममा ब्रिटिस एजुकेसन ग्रुपका प्रोफेसनल एजुकेसन प्रमुख दीपेन्द्र के श्रेष्ठले भने, 'शिक्षकहरूको यो उत्साहजनक सहभागिताले नेपालमा लेखा शिक्षाको गुणस्तर सुधारप्रतिको ठूलो प्रतिबद्धता झल्काउँछ। एसीसीएसँग मिलेर शिक्षकहरूका लागि यस्ता अर्थपूर्ण कार्यक्रम आयोजना गर्न पाउँदा हामीलाई गर्व लागेको छ।'
काठमाडौं र पोखरा दुवै स्थानमा एसीसीएको अध्यापन गराउँदै आएको कलेजले व्यावसायिक शिक्षाको विकास र शिक्षकहरूको क्षमता अभिवृद्धिमा निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ।