२३ असार २०८३, मंगलबार

एलन मस्क विश्वकै पहिलो ट्रिलियनेयर बन्ने बाटोमा, स्पेसएक्स अमेरिकी स्टक एक्सचेन्ज सूचीकृत

जेठ २९, २०८३
काठमाडौं
एलन मस्क विश्वकै पहिलो ट्रिलियनेयर बन्ने बाटोमा, स्पेसएक्स अमेरिकी स्टक एक्सचेन्ज सूचीकृत

अमेरिकी अर्बपति एलन मस्कको अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्स औपचारिक रूपमा अमेरिकी स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत भएको छ। कम्पनीको सूचीकरणलाई विश्व इतिहासकै सबैभन्दा ठूलो ‘इनिसियल पब्लिक अफरिङ’ (आईपीओ) का रूपमा हेरिएको छ।

बीबीसीका अनुसार स्पेसएक्सले प्रतिसेयर १३५ डलरका दरले ७५ अर्ब डलर बराबरको पुँजी परिचालन गर्ने लक्ष्य राखेको छ। यो रकम सन् २०१९ मा साउदी अरेबियाको सरकारी तेल कम्पनी अराम्कोले गरेको २५.६ अर्ब डलरको आईपीओभन्दा झन्डै तीन गुणा बढी हो।

बजार विश्लेषकहरूले कम्पनीको शेयर मूल्य प्रारम्भिक कारोबारमै प्रतिकित्ता १७१ डलरसम्म पुग्न सक्ने अनुमान गरेका छन्। त्यसो भएमा स्पेसएक्सको कुल बजार मूल्याङ्कन २.२ ट्रिलियन डलर नाघ्नेछ। कम्पनीमा ८० प्रतिशतभन्दा बढी स्वामित्व रहेका मस्कको सम्पत्ति पनि अभूतपूर्व रूपमा बढ्ने भएकाले उनी विश्वकै पहिलो ‘ट्रिलियनेयर’ बन्ने सम्भावना बलियो भएको बताइएको छ।

टेक्ससस्थित स्पेसएक्सको आधार शिविरबाट भर्चुअल माध्यममार्फत कारोबार उद्घाटन गर्दै मस्कले क्यालिफोर्नियाको एल सेगुन्डोस्थित एउटा सानो गोदामबाट सुरु भएको कम्पनी आज विश्वकै ठूलो आईपीओ जारी गर्ने अवस्थासम्म पुग्नु अविश्वसनीय उपलब्धि भएको बताए।

उनले मानव सभ्यतालाई बहुग्रहीय बनाउने आफ्नो दीर्घकालीन लक्ष्य दोहोर्‍याउँदै चन्द्रमा र मंगल ग्रहमा मानव बस्ती स्थापना गर्ने अभियानलाई थप तीव्र बनाइने बताए। कारोबार सुरु भएको क्षणमा स्पेसएक्स मुख्यालयमा एल्टन जोनको चर्चित गीत ‘रकेट म्यान’ बजाइएको थियो।

विश्लेषकहरूले स्पेसएक्सको सूचीकरणलाई कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानीकर्ताको विश्वास परीक्षण गर्ने महत्वपूर्ण घटनाका रूपमा पनि व्याख्या गरेका छन्। 
 

salt training

कमेन्ट गर्नुहोस्