
भारतको दिल्लीस्थित एम्स अस्पतालका चिकित्सकहरूले गर्भमा हुर्किरहेको बच्चाको मुटुको सफल शल्यक्रिया गरेका छन् ।
बलून डाइलेसन सर्जरी विधिमार्फत उनीहरूले शिशुको मुटुको बन्द भएको भल्भ खोलेका थिए । बलून क्याथेटर मार्फत शिशुको बन्द भएको भल्भ खोलिएको हो । त्यसले रक्तप्रवाहलाई सहज गराएको थियो ।
जम्मा ९० सेकेन्डमा यो सर्जरी गर्न चिकित्सकहरू सफल भएका थिए । अहिले आमा र शिशु दुवै सुरक्षित छन् ।
एम्सको कार्डियोथोरासिक साइन्स सेन्टरमा यो अपरेसन गरिएको हो । एम्सका चिकित्सकहरूको टोलीले अहिले शिशुको मुटुको निगरानी गरिरहेका छन् ।
शिशुकी आमाको पछिल्लो तीन गर्भ खेर गएको थियो ।
पछिल्लो गर्भमा पनि शिशुको मुटुको अवस्था जोखिमपूर्ण देखिएपछि चिकित्सकहरूले अपरेसनको सल्लाह दिएका थिए । गर्भवती महिला र उनका पतिले अपरेसन गर्न मानेका थिए ।
शिशु आमाको गर्भमै हुँदा मुटुरोग छ भने पत्ता लगाउने प्रविधि विकसित भइसकेको छ । गर्भमा नै त्यसलाई ठीक पार्न सके जन्मेपछि बच्चाको स्वास्थ्य सामान्य रहन्छ ।
यो सर्जरी विधि एकदमै छिटो गर्नुपर्ने हुन्छ । गर्भस्थ शिशुको हार्ट चेम्बरलाई प्वाल पारेर अपरेसन गर्नुपर्ने हुँदा सानो चुक भएमा पनि बच्चाको ज्यान जान सक्छ ।
छिटो अनि अल्ट्रासाउन्डको सहायताले सही अनुमानका साथ अपरेसन गरिएकाले शिशुको मुटु अब सामान्य बनेको छ ।