
बाजुराको बडिमालिका नगरपालिकामा पोखरीमा डुबेर एक किशोरीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आइतबार साँझ करिब ७:३० बजे बडिमालिका नगरपालिका–१ सल्याना गाउँस्थित पोखरीमा नुहाउने क्रममा स्थानीय कित्तु कार्कीकी १४ वर्षीया छोरी भावना कार्की डुबेर बेहोस भएकी थिइन् ।
उनलाई उनका दाजु वीरभाने कार्कीले उद्धार गरी उपचारका लागि राति ९:२५ बजे जिल्ला अस्पताल मार्तडी पुर्याएका थिए । उपचारकै क्रममा राति ९:३५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बाजुरामा सूचना अधिकारी, इन्स्पेक्टर नरेशबहादुर शाहीले जानकारी दिए ।
मृतकको शव जिल्ला अस्पताल मार्तडीमा राखिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।