०७ असार २०८३, आइतबार

गुणस्तरीय प्राविधिक शिक्षाका लागि क्वालिटी परियोजना शुरू

गुणस्तरीय प्राविधिक शिक्षाका लागि क्वालिटी परियोजना शुरू

लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले युवाहरूका लागि गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम ‘क्वालिटी’ परियोजना शुरू गरेको छ । 

स्वीस सरकारको सहयोगमा प्राविधिक शिक्षाको क्षेत्रमा भएका कमीकमजोरीलाई सुधार गरेर युवाहरूलाई गुणस्तरीय प्राविधिक शिक्षाको पहुँचमा पुर्‍याउन कार्यक्रम शुरू गरिएको हो ।

परियोजनाको विषयमा मन्त्रालयले शुक्रवार विभिन्न पालिकाका प्रमुख/उपप्रमुखहरू र सरोकारवाला पक्षसँग लुम्बिनीमा प्रादेशिक अभिमुखीकरण कार्यशाला गरेको छ । 

सो अवसरमा बोल्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् लुम्बिनी प्रदेशका प्रमुख निर्देशक गोपाल आचार्यले प्राविधिक क्षेत्रमा जनशक्तिको ठूलो अभाव रहेकाले त्यसलाई छिटो पूर्ति गर्नुपर्नेमा जोड दिए । आचार्यले दरबन्दीअनुसार कर्मचारी नहुँदा समयमै नतिजा र तालिमहरू सञ्चालनमा कठिनाइ भएको बताए । 

मन्त्रालयका अधिकृत तथा महाशाखा प्रमुख थानेश्वर ज्ञवालीले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम (सीटीईभीटी) लागू भएका शिक्षालय र विद्यालयमा कार्यक्रम सञ्चालन हुने बताए । ‘यो कार्यक्रम प्राविधिक शिक्षामा धेरै सुधार ल्याउनेछ,’ ज्ञवालीले भने, ‘प्राविधिक शिक्षालयहरूको ग्रेडिङ गर्ने, क्षमता वृद्धि गर्ने, प्रशिक्षक/शिक्षकलाई तालिमको व्यवस्था गर्ने र विद्यालय सुधार गर्नेछ ।’ 

तानसेन नगरपालिका पाल्पाका उपप्रमुख प्रतिक्षा सिंजालीले सीटीईभीटीबाट उत्पादित जनशक्तिलाई नेपालमै रोजगारको अवसर हुनुपर्ने बताइन् । कार्यक्रममा क्वालिटी परियोजना सहयोग इकाई स्वीस कन्ट्रयाक कार्यक्रमका शिक्षाविद् डा. उषा भण्डारी र परियोजनाका टीम लिडर भानु पण्डितले प्रशिक्षण दिएका थिए । 

लुम्बिनीमा सीटीईभीटीका आंगिक स्कूल १० वटा, पार्टनरशिपका ३ वटा, सीटीईभीटी लागू भएका ६० वटा र ९ देखि १२ कक्षासम्म प्राविधिक शिक्षा सञ्चालन गरेका १०० वटा स्कूलहरू रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्