
चर्चित गीत ‘धोकेबाज हौ तिमी’ अब र्याप भर्सनमा पनि सार्वजनिक हुने भएको छ ।
सुवास कार्की (कार्कीजी)को शब्द एवं संगीत रहेको गीत डेढ वर्षअघि गायिका एलिना चौहानको स्वरमा सार्वजनिक भएको थियो । त्यसको केही महिनापछि गायक शिव परियारको स्वरमा गीतको मेल भर्सन सार्वजनिक भएको थियो ।
डेढ महिना अघिमात्रै सुप्रिम मल्लको स्वरमा गीतको चाइल्ड भर्सन सार्वजनिक भइसकेको छ । अब, गीतकार एवं संगीतकार कार्कीजीकै स्वरमा यसको र्याप भर्सन आउने भएको हो ।
‘‘र्याप भर्सन’ रेकर्ड भइसकेको छ । सुटिङ गरेर एक हप्ताभित्रै रिलिज गर्ने सोँचिरहेको छु’ – सुवासले लोकान्तरसँग भने ।
उनी र्यापबाट साङ्गीतिक क्षेत्रमा भित्रिएका हुन । झण्डै ३ सय गीतमा उनको र्याप समावेश छ ।
कोरोनाकालको लकडाउनको समयमा र्याप गीत रेकर्डिङ कम भएपछि उनले अन्य गीत लेखन सुरु गरेका थिए ।
त्यसैमध्येको एउटा गीत थियो ‘धोकेबाज हौ तिमी’ ।
पछिल्लो समय भने उनले र्यापलाई निरन्तरता दिएका थिएनन् ।
‘अब र्यापलाई कन्टीन्यू गरौं न भनेर यसबाट सुरु गर्दैछु’ उनले भने, ‘र्याप भर्सनलाई राम्रो बनाउने कोसिस रहनेछ ।’
उनका अनुसार र्याप भर्सनमा शब्द, संगीत, एरेन्ज परिमार्जित हुनेछ ।
कुन युट्युब च्यानलबाट र्याप भर्सन सार्वजनिक हुने भन्नेबारे भने तय भइसकेको छैन ।
सुवासका अनुसार ‘धोकेबाज हौ तिमी’को कपिराइट युट्युब च्यानल ‘नमस्ते प्लस’संग छ । यसका सञ्चालक अष्ट्रेलियामा बस्दै आएका रामकान्त न्यौपाने हुन् । ‘धोकेबाज हौ तिमी’को फिमेल भर्सनले २ करोड ४३ लाख भ्युज पाएको छ ।
यसको मेल भर्सनले ८४ लाख भ्युज पाएको छ भने डेढ महिनाअघि सार्वजनिक चाइल्ड भर्सनले झण्डै १५ लाख भ्युज पाएको छ । तिनवटै भर्सन ‘नमस्ते प्लस’ युट्युब च्यानलबाटै सार्वजनिक भएका हुन् ।