०९ साउन २०८३, शनिबार

चैतका ३ हप्तामा ७ चलचित्र प्रदर्शनमा आउने

चैत १०, २०७९
चैतका ३ हप्तामा ७ चलचित्र प्रदर्शनमा आउने

चैत लागेदेखि नै नेपाली चलचित्र प्रदर्शन भएको छैन । २ हप्ता खाली रहे पनि बाँकी ३ हप्ता भने ७ चलचित्र प्रदर्शन हुँदैछन् ।

वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प्रदर्शन तय गरेका हुन् । 

चैत १७ गते चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आउँदैछ । गोविन्दसिंह भण्डारीको निर्देशनमा तयार भएको चलचित्रमा अरुण क्षेत्री, सुवेक्षा खड्का र सृष्टी श्रेष्ठ मुख्य भूमिकामा छन् । प्रेम र समर्पणमा आधारित चलचित्रलाई प्रदर्शन गर्ने समय वितरकसँगको छलफलपश्चात् तय गरिएको निर्देशक भण्डारीले बताए ।

‘अहिले समय पाउनै मुस्किल छ,’ उनले भने । 

चैत २४ गते चलचित्र ‘बहाव’ र ‘प्रसाद २’ प्रदर्शन हुँदैछन् । फोटो पत्रकार श्रीधर पौडेलको निर्माण तथा प्रमोद कँडेलको निर्देशन रहेको ‘बहाव’मा सुरक्षा पन्त, कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठले अभिनय गरेका छन् ।

जिज्ञासा, विचार अनि यथार्थको कथालाई प्रमुख विषय बनाइएको चलचित्र ‘बहाव’ कलात्मक रहेको निर्देशक कँडेलले जानकारी दिए ।

‘चलचित्र पूर्णरूपमा व्यावसायिक भए पनि यसको प्रस्तुतीकरण भने कलात्मक छ,’ उनले भने । 

सोही समयमा प्रदर्शन हुने चलचित्र ‘प्रसाद २’लाई सुभाष थापाले निर्माण गरेका हुन् । उनले चलचित्रको काम सकिएकाले चैतको अन्तिम साता प्रदर्शन तय गरिएको जानकारी दिए । ‘वैशाख १ गते प्रदर्शन गर्ने घोषणा गरेका थियौं । यद्यपि उक्त समयमा धेरै चलचित्र भएपछि १ हप्ता अगाडि नै प्रदर्शन गर्दैछौं,’ निर्माता थापाले भने, ‘प्रसादको दोस्रो शृंखला भए पनि कथावस्तु फरक छ । गाउँको परिवेशमा पारिवारिक सम्बन्ध र सामाजिक कथावस्तुमा आधारित छ ।’ 

सुशील पौडेलको लेखन रहेको चलचित्र ‘प्रसाद २’लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । यसमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणि नेपाल, विशाल पहाडी लगायत कलाकारले अभिनय गरेका छन् ।

आगामी वैशाख १ गते व्यापार राम्रो हुने आशाले ४ चलचित्र प्रदर्शन हुँदैछन् । ‘नाई नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शन गर्ने घोषणा गरेर निर्माण पक्षले प्रचारप्रसार गरिरहेका छन् । ‘नाई नभन्नु ल’को छैटौं शृंखलालाई विकासराज आचार्यले निर्देशन गरेका हुन् । यसमा आँचल शर्मा, आशिर्वाद क्षेत्री, केकी अधिकारी लगायतले अभिनय गरेका छन् ।

‘प्रेमकथाकै निरन्तरता पाउनुहनेछ । दर्शककै मायाले छैटौं शृंखलासम्म आइपुगेका छौं । समग्रमा मनोरञ्जनको प्याकेज तयार गरेका छौं,’ निर्देशक आचार्यले भने । सोही समयमा अभिनेता दयाहाङ राई अभिनित दुई चलचित्र ‘बिहे पास’ र ‘जारी’ एकसाथ प्रदर्शन हुँदैछन् । 

लिम्बू समुदायको प्रेमकथालाई विषयवस्तु बनाइएको ‘जारी’मा श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमानको कथा रहेको निर्माण पक्षले जानकारी दिएको छ । कवि उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्रमा अभिनेता राईसँगै मिरुना मगर, विजय बराल, कमलमणि नेपाल, रेखा लिम्बू लगायतले अभिनय गरेका छन् ।

सोही समयमा प्रदर्शन हुने भनिएको अभिनेता राई अभिनित ‘बिहे पास’मा प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतले अभिनय गरेका छन् । प्रवेश पौडेलको निर्देशक रहेको चलचित्रमा बिहे गर्नका लागि सरकारी जागिर हुनुपर्छ भन्ने मान्यताको कथावस्तु समावेश गरिएको छ ।

वैशाख १ गतेमै प्रदर्शनमा आउने चलचित्र हो ‘बुलाकी’ । कर्णालीको ग्रामीण जीवन, रीतिथिति, जारी प्रथा तथा परिवार र सम्बन्धलाई देखाइएको चलचित्रलाई विराज विष्टले निर्माण गरेका हुन् । सुरक्षा पन्त, नरेन खड्कासँगै स्वयं निर्माता विष्टले यसमा अभिनय गरेका छन् । नयाँ वर्षलाई लक्षित गर्दै ४ चलचित्र प्रदर्शन हुनु सुखद् नरहेको वितरक करण श्रेष्ठले बताए ।

‘एकसाथ यसरी चलचित्र प्रदर्शन हुनाले सबैलाई घाटा गर्छ । बिदालाई लक्षित गर्दै २ चलचित्र प्रदर्शन हुनु सामान्य मानिन्छ,’ उनले भने, ‘यसबारे सम्बन्धित संस्थाले सोच्नै पर्छ । यही क्रम रहने हो भने आगामी दिन झनै मुस्किल हुनेछन् ।’ यसअघि नयाँ वर्षमा २ वा ३ सम्म चलचित्र प्रदर्शन भइसकेका छन् । – भेषराज कार्की/रासस

salt training

कमेन्ट गर्नुहोस्