
नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ आगामी दशैंको फूलपातीमा प्रदर्शनमा आउने घोषणा गरिएको छ ।
निर्माण टिमले शनिवार एक भिडियो सार्वजनिक गर्दै फिल्म प्रदर्शनका लागि दशैंको फूलपाती (कात्तिक ३ गते) रोजेको हो । योसँगै दुई प्रतीक्षित फिल्मबीच प्रतिस्पर्धा हुने तय भएको छ ।
हाल छायांकनरत दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ले यसअघि नै दशैंको फूलपातीलाई प्रदर्शन मिति ‘लक’ गरिसकेको छ । अब दशैंको फूलपातीमा ‘पशुपति प्रसाद २ः भष्मे डन’ र ‘परदेशी २’बीच भिडन्त हुने तय भएको हो ।
‘परदेशी २’ लोकप्रिय गायक प्रकाश सपूतको डेब्यू फिल्म हो । रमेश बिजीको कथा एवं पटकथा रहेको फिल्ममा प्रकाशसँगै प्रशान्त तामाङ, दीलिप रायमाझी, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ । नारायण इन्टरनेशनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीले फिल्मको निर्माण गरेका हुन् ।
यस्तै, ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलको रुपमा ‘पशुपति प्रसाद २ः भष्मे डन’ निर्माण भइरहेको हो । यो फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा शिवाकोटी, प्रकाश घिमिरे, रवीन्द्र सिंह बानियाँ, मिस्श्री थापा लगायतको अभिनय रहनेछ ।

यसअघि ‘पशुपति प्रसाद’मा शीर्ष भूमिकामा रहेका खगेन्द्र लामिछाने यो फिल्ममा लेखक एवं निर्माताका रुपमा मात्र छन् । टुकी आर्ट्सको प्रस्तुतिमा फिल्म निर्माण हुन लागेको हो ।
‘पशुपति प्रसाद’ र ‘परदेशी’ दुवै सात वर्षअघिका हिट फिल्महरू हुन् । सोहीकारण पनि ‘पशुपति प्रसाद २ : भष्मे डन’ र ‘परदेशी २’ दुवै फिल्मलाई लिएर दर्शकको ठूलो जमातमा पखाई छ ।