झरनाको चिसो पानी मैयाँ, डाँडामुनी ताल पर्यो
राम्री त तिमी राम्री मैयाँ, मलाई किन गाल पर्यो
राम्री त तिमी राम्री मैयाँ, मलाई किन गाल पर्यो
यो हिट गीत नसुन्ने सायदै होलान् । गीतका रचनाकार सुरेश अधिकारीकै स्वरमा यो गीत सुन्दै आइएको थियो ।
दुई दशक भन्दा लामो इतिहास बोकेको गीतकार तथा गायक सुरेश अधिकारीको यो गीत यतिखेर रिमेक गरेर सार्वजनिक गरिएको हो ।
सगरमाथा डिजिटल प्रा.लिले गीतलाई रिमेक गरेको हो । जसमा गायक राजुले स्वर दिएका छन् । गीतमा सङ्गीत संयोजन योगेश काजी शाहले गरेका छन् भने मिक्सिङ्ग ,रेकर्डिङ र मास्टरिङ्ग पवन विश्वकर्माले गरेका हुन् ।
गीतकार अधिकारीको शब्द रचनामा सजिएको यस गीतमा निरज कुमार सुनारको संगीत रहेको थियो । कम्पनीले अहिले गीतमा एरेन्ज मात्रै बदलेर रिमेक गरिएको जानकारी दिएको छ ।
‘सबै गीतको रिमेक हुने भाग्य हुँदैन, यो उत्कृष्ट गीत भएकाले रिमेक गरिएको हो,’ कम्पनीका अध्यक्ष हिरा केसीले बताए । गीत रिमेक गर्न रचनाकार, सङ्गीतकार तथा गायक सबै पक्षसँग अनुमति पाएको उनको भनाइ छ । केही दिनअघि सार्वजनिक भएको यस गीतको अडियो अहिले युट्युबको ट्रेन्डिङमा रहेको छ ।
कुलेखानी आसपासका मनोरम दृश्यहरूलाई लिएर भिडियो बनाइएको कम्पनीका अध्यक्ष केसीले बताए । मौसम हिमाली निर्देशित यस भिडियोलाई अनिल के. मानन्धरले छायाँकन गरेका हुन् ।
भिडियोमा अभिनेता पुष्प खड्का र मोडल ललिना चिमरियाले अभिनय गरेका छन् । दुई दशक पुरानो सगरमाथा डिजिटलका एक सयभन्दा बढी लोकप्रिय गीतहरू बजारमा आइसकेका छन् ।
कम्पनीका तिमी बिनाको जीवन, तिमीले दिने माया, काली पारे दाइ, माया हो माया लगायतका विभिन्न गीतहरू लोकप्रिय छन् ।