
दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगिता हुने भएको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा विराटनगरमा चैत १५ देखि २५ गतेसम्म विराटनगरको जुट मिलको खेल मैदानमा क्रिकेट प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितमा भारतका ७ र नेपालका ११ गरी १८ वटा टिमको सहभागी हुने मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको अध्यक्ष मुरली चौधरीले जानकारी दिए । प्रतियोगिताको उदघाटन दिनको खेल भारत जोगवनीको रोशान्त क्रिकेट क्लब र विराटनगरको होरिजन क्रिकेट क्लबबीच हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार रुपैयाँ र शिल्ड प्राप्त गर्नेछन् । उपविजेताले ६१ हजार रुपैयाँ पाउनेछन् । म्यान अफ द म्याच हुने खेलाडीले नगद १५ हजार, बेस्ट ब्याटमेनले ११ हजार, बेस्ट बलरले ११ हजार, इमेजिङ्ग प्लेयरले ५ हजार रुपैयाँ पाउनेछन् । यस्तै दैनिक म्यान अफ द म्याच हुने खेलाडीले १ हजार १ सय रुपैयाँको साथै आकर्षण गिफट ह्याम्पर प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न करिब २६ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । क्रिकेट प्रतियोगिताको विकास गर्ने उद्देश्यले यो प्रतियोगिता गर्दै आएको उनले बताए । प्रथम संस्करणको मिल्स क्रिकेटको उपाधि पूर्वाञ्चल एकेडेमीले जितेको थियो ।