
महोत्तरी लगायत सम्पूर्ण मिथिलाञ्चलमा मंगलवार एकाबिहानै छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याई प्रातः कालीन उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व सम्पन्न गरिँदैछ ।
सोमवार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठ उत्सव मनाइएको थियो ।
४ दिनसम्म विभिन्न विधिहरू गर्दै मनाइँदै आएको छठ पर्वको तेस्रो दिन मंगलवार साँझ तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाभर जलाशयमा अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पन गर्दै धुमधामका साथ चैती छठ मनाइएको थियो ।
चैती छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबास लगायत अन्य सहरी एवम् ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदीहरू बिग्ही, रातो मरहा, जंगहा, अंकुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक छठ पर्व मनाइयो । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ ।
सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।
पर्वको पहिलो दिन शनिवार व्रतालुहरूले नहा खा अर्थात् नुहाएर खाएर जीउ चोख्याउने काम गरेका थिए । पर्वको दोस्रो दिन आइतवार खर्ना मनाएका थिए । खर्नाका दिन व्रतालुहरूले दिनभर उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गरेका थिए । राति अरवा अरबाइन (विना नून हालेको) खानेकुरा खाएका थिए ।
षष्ठीका दिन अर्थात् सोमवार साँझ गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटानपिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकिया जस्ता पकवान र विभिन्न फलपूmल तथा मूला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।
षष्ठीका दिन सोमवार साँझ व्रतालुहरूले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अघ्र्य अर्पण गरेका छन् ।
महाभारतका अनुसार द्रोपदीसहित पाण्डवहरु अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको शुरूआत भएको तथ्य उल्लेख छ ।
धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रूपमा समेत विकसित छठ पर्व हिन्दूको सँगसँगै मुस्लिमहरुले पनि मनाउने गर्छन् । यस पर्वमा चढाइने पदार्थको संख्या ७० पुर्याउनुपर्छ तर चढाउने सामथ्र्य नभएकाहरू गम्हरी चामल मात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास रहेको छ ।